थाहानगर/४ चैत्र
भोलि चैत्र ५ गते हुने स्ववियु निर्वाचनअन्तर्गत पालुङ क्याम्पसको निर्वाचन एउटा प्यानलले बहिष्कार गरेको छ ।
क्याम्पसमा दर्ता भएको नेविसंघ—अनेरास्ववियुको संयुक्त प्यानलले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो । चैत्र ४ गते राति संयुक्त प्रेस विज्ञप्ति जारी गरी निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको हो । विज्ञप्तिमा नेविसंघका तर्फबाट सभापतिका उमेदवार रोशनी गोपाली र अनेरास्ववियुका तर्फबाट सचिवका उमेदवार आयाम नापितले हस्ताक्षर गरी बहिष्कार गरेको जनाएको हो ।
विज्ञप्तिमा आफूहरुले राखको माग प्रति क्याम्पस प्रशासन गम्भीर नभई तानाशाही ढंगले निर्वाचन गर्न खोजेको आरोप लगाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हामीले पटक–पटक क्याम्पस प्रशासन र निर्वाचन अधिकृत समक्ष निर्वाचन प्रक्रियामा देखिएका अनियमितता, विद्यार्थी भर्नामा गरिएको अपारदर्शिता, योग्य उम्मेदवार विद्यार्थीहरुमाथि गरिएको धम्कीपूर्ण व्यवहार तथा पार्टीगत हस्तक्षेपका विषयमा छानबिन गरी समस्या समाधान गर्न स्पष्ट रूपमा माग गरेका थियौं। तर, दुर्भाग्यवश, क्याम्पस प्रशासन र निर्वाचन अधिकृतले हाम्रो जायज मागलाई बेवास्ता गर्दै तानाशाही शैलीमा निर्वाचन जबर्जस्ती गर्न खोजिरहेका छन्। विद्यार्थीहरुको आधारभूत अधिकार, निष्पक्ष प्रतिस्पर्धा र क्याम्पसको शैक्षिक वातावरणमाथि कपटपूर्ण आक्रमण गर्ने यस कार्यलाई हामी कदापि स्वीकार गर्ने छैनौं।’
विज्ञप्तिमार्फत विभिन्न चार वटा मागहरु समेत राखेका छन् । क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको राजीनामा, विद्यार्थी सूची, भर्ना प्रक्रिया र उम्मेदवार चयनमा भएको अनियमितता छानबिन गर्न स्वतन्त्र समिति गठन गर्न, अहिले तय गरिएको निर्वाचन कार्यक्रम तत्काल खारेज गर्न र क्याम्पसमा स्वच्छ, निष्पक्ष र विद्यार्थीमैत्री वातावरण सिर्जना नगरेसम्म कुनै पनि निर्वाचन प्रक्रिया अघि नबढाउन माग गरिएको छ ।
मागलाई सम्बोधन नगरे आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने र स्ववियु घोषित स्वीकार नहुने उल्लेख छ ।
उता, क्याम्पस प्रशासन भने पटक पटक छलफलका लागि आव्हान गरेकोप्रति वेवास्ता गरेपछि आफूहरु पूर्व तालिका अनुसार निर्वाचनमा जान बाध्य भएको जनाएको छ । क्याम्पसद्वारा जारी मतदाता नामावलीमा ७२ जना विद्यार्थीहरुको सुची छ ।
विज्ञप्ति


-
16 hours agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने
-
16 hours agoविज्ञान प्रदर्शनीमा हिमालयन प्रथम
-
1 day agoपालुङ प्रहरी निरीक्षक बज्राचार्यको सरुवा

Comments