Byroad News

Loading...

एमाले थाहाको नियमित बैठक र शुभकामना आदानप्रदान स्थगित, श्रमदानमा जुट्न आग्रह


एमाले थाहाको नियमित बैठक र शुभकामना आदानप्रदान स्थगित, श्रमदानमा जुट्न आग्रह

थाहानगर/१३ असोज

नेकपा एमाले थाहा नगर कमिटीले आगामी असोज १५ गतेको नियमित बैठक र शुभकामना आदानप्रदान कार्यक्रम स्थगित गरेको छ । 

प्रत्येक महिनाको १५ गते एमालेको नियमित बैठक  हो । बैठक कै दिन शुभकामना आदानप्रदान कार्यक्रम समेत तय गरिएको थियो ।  असोज ११ र १२ गतेको अविरल वर्षाका कारण थाहा नगरका सबै वडाहरुमा ठूलो मात्रामा क्षति पुगेको भन्दै बाढीपहिरोबाट पुर्‍याएको क्षतिलाई साबिकको अवस्थामा फर्काउन आवश्यक रहेको बताएको छ । 

सबै वडाहरु जोड्ने प्रमुख तथा शाखा सडकहरु समेत पूर्ण क्षति भई सवारी अगावमन अवरुद्ध हुन पुगेको छ । सडक अवरुद्व हुँदा किसानहरुद्वारा उत्पादित करोडौंको तरकारी खेतबारीमै कुहाउनु पर्ने अवस्था आएकोप्रति ध्यानाकर्षण गर्दै स्थानीय सरकारलाई तत्काल सडकहरुको मर्मत सम्भारमा ध्यान पुर्‍याउन आग्रह गरेको छ । 

एमालेले आफ्ना कार्यकर्ताहरुलाई तत्काल मानिसले खोल्न सक्ने सडकको अवरोध श्रमदान गरेर हटाउन समेत अनुरोध गरेको छ ।

एमाले थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधानले विज्ञप्ति जारी गर्दै "नियमित बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्न मिल्ने अवस्था छैन, यो विपदको समयमा उद्वार तथा श्रमदानमा जुट्नु हुन अनुरोध छ।" भनिएको छ ।

"अविरल वर्षाका कारण धनमालमा पुगेको क्षति प्रति दु:ख व्यक्त गर्दै तत्काल उचित राहतको व्यवस्था गर्न सरकारसँग माग गर्दछौं ।" विज्ञप्तिमा भनिएको छ, "हामी आफ्नो गाउँ आफै बनाउँ, कार्यक्रमबाट स्कुलिङ पार्टीका कार्यकर्ता हौं, यस्तो विपदको बेला सबै मिलेर जनजीवनलाई सामान्यतर्फ फर्काउन लागौं ।"

थाहा नगरमा मानवीय क्षति नभएपनि करोडौं रुपियाँको धनमाल क्षति पुगेको छ । 

नगरपालिकाले आइतबार सर्वदलीय, सर्वपक्षीय बैठक राखी सबै वडाहरुले तत्काल स्रोत निश्चित गरि सडक मर्मतलाई प्राथमिकता दिन मेयर विष्णु विष्टले निर्देशन दिनु भएको छ ।

उता, चित्लाङ-चन्द्रागिरी-थानकोट सडक भोलि मङ्गलबार बेलुकीसम्म खुल्न सक्ने चित्लाङबाट रामकृष्ण बस्नेतले बताउनु भएको छ ।

Comments

KATHMANDU WEATHER