Byroad News

Loading...

एमसीसी पास भएपछि माओवादी छोड्न थाले


एमसीसी पास भएपछि माओवादी छोड्न थाले

काठमाडौं/१६ फागुन
अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित भएसँगै सुदूरपश्चिममा माओवादी केन्द्र परित्याग गर्नेको लर्को लागेको छ।

आइतबार संसदमा व्याख्यात्मक टिप्पणी गरेर एमसीसी पारित गर्न माओवादी अध्यक्ष प्रचण्ड सहमत भएपछि असन्तुष्ट कार्यकर्ताले धमाधम पार्टी र भातृ संगठन परित्यागको घोषणा गरिरहेका छन्।

नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा डोटीका प्रभावशाली युवा नेता भरत बोहरा माओवादी परित्याग गरी एमाले प्रवेश गरेका छन्। उनलाई एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव प्रदिप ज्ञवाली, सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट लगायतले स्वागत गरेका छन्।

माओवादी परित्याग गर्दै बोहराले सामाजिक संजालमा लेखेका छन्,‘‘ प्रचण्ड कमरेडले व्याख्यात्मक टिप्पणी गरेर एमसीसी पास गर्ने निर्णय गरेसँगै मैले नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमालेमा समाहित भएको घोषणा/जानकारी गर्दछु।”

यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ का वडाध्यक्ष बहादुर सिँह महराले एमसीसी पारित भएपछि जनप्रतिनिधि र पार्टी दुबैलाई त्याग्ने घोषणा गरेका छन्। नेकपा माओबादीबाट निर्वाचित महराले फेसबुकबाट जनतासित माफी मागेर वडा अध्यक्ष छाड्ने घोषणा गरेका हुन्।

अध्यक्ष महराले सोमबार विहान १० बजे वडा वासिन्दासित माफी मागेर अध्यक्ष छाड्ने घोषणा गरेका छन्। उनले आफ्नो पार्टी नेकपा माओवादी केन्द्रप्रति तीव्र असन्तुष्टि जनाउँदै देश बेच्ने भनेर गम्भीर आरोप समेत लगाएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘‘देश बेच्नेहरुको वडा अध्यक्ष पदबाट भोलि विहान १० बजे जनतासित माफी मागेर राजीनामा गर्ने घोषणा गर्दछु।’’ उनी माओवादी केन्द्रका सशस्त्र जनयुद्धकालिन कार्यकर्ता हुन्।

यस्तै माओवादी केन्द्र डोटीका नेता तेजप्रसाद खड्काले पनि सामाजिक सञ्जालमा स्टाटस लेख्दै पार्टी परित्यागको घोषणा गरेका छन्। एमसीसी संसदबाट माओवादीकै समर्थनमा पास भएपछि असन्तुष्ट जानाउदै उनले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

माओवादी निकट पत्रकारको भातृ संगठन प्रेस सेन्टरका सुदूरपश्चिम प्रदेश कमिटी वरिष्ठ उपाध्यक्ष सम्राट सिंहले पनि एमसीसी अनुमोदन भएपछि असन्तुष्ट जनाएका छन्। उनले सामाजिक संजालमा लेखेका छन्, ‘‘अब मैले पनि केही सोच्नुपर्ने बेला भयो।” उनी एमसीसीको विरुद्ध खुलेरै लागिरहेका थिए।

यसरी जनभावना विपरीत एमसीसी अनुमोदनमा सहभागी भएपछि माओवादी परित्याग गर्नेको लर्को लागेको छ। गठबन्धन टुट्ने र सत्ता छोड्नुपर्ने पर्ने अवस्था आएपछि माओवादी प्रचण्ड व्याख्यात्मक टिप्पणी सहित एमसीसी अनुमोदनका लागि सहमत भएका थिए।

सुदूरपश्चिमसहित देशभरबाट नेता कार्यकर्ताले नेतृत्वको विरोध गर्दै पार्टी परित्यागको घोषणा गर्न थालेपछि माओवादी अध्यक्ष प्रचण्डले आज विशेष सम्बोधन गर्ने तयारी गरेका छन्।

Comments

KATHMANDU WEATHER