Byroad News

Loading...

आज संक्रमण दर अहिलेसम्मकै उच्च, १६ जनाको मृत्यु


आज संक्रमण दर अहिलेसम्मकै उच्च, १६ जनाको मृत्यु

काठमाडौं/८ माघ
पछिल्लो २४ घण्टामा देशभर गरिएको परीक्षणमा सङ्क्रमण दर ५६.८ प्रतिशत पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाको तेस्रो लहर सुरु भए यताकै यो सबैभन्दा उच्च सङ्क्रमण दर हो । शुक्रबार पीसीआर विधिबाट सङ्क्रमण दर ४६.३ प्रतिशत थियो । 

देशभर थप १० हजार २५४ जनामा कोरोनाभाइरसको संक्रमण  पुष्टि भएको छ । २० हजार १८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ हजार २१२ तथा एन्टीजेन विधिबाट २ हजार ४२ जनामा संक्रमण पुष्टि भएको छ । एन्टीजेन विधिबाट भने संक्रमण दर ४२.२ प्रतिशतबाट घटेर ३५.७ प्रतिशत पुगेको छ । समग्रमा संक्रमण दर ४६.३ प्रतिशत छ ।

नयाँ संक्रमितहरूमध्ये सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका छन् । यो उमेर समूहबाट २ हजार ८७० जना संक्रमित भएका छन् । त्यस्तै, ३१ देखि ४० उमेर समूहबाट २ हजार २४४ जना संक्रमित छन् । १० वर्षभन्दा कमका १ सय ४६ जना संक्रमित थपिएका छन् ।  

पछिल्लो २४ घण्टामा काठमाडौँमा सबैभन्दा बढी ३ हजार ७६३ जना संक्रमित थपिएका छन् । त्यसपछि ललितपुरमा १ हजार ११० तथा भक्तपुरमा ४३४ जना संक्रमित थपिएका छन् । प्रदेश १ मा मोरङमा २७३, मधेस प्रदेशमा सप्तरीमा ५५ जना र गण्डकीमा कास्कीमा ४ सय जना संक्रमित थपिएका छन् ।

५ सयभन्दा बढी उपचारार्थ संक्रमित रहेका जिल्लाहरूमा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ जना कोरोनासंक्रमितको मृत्यु भएको छ । हालसम्म देशमा ११ हजार ६ सय ५१ जना संक्रमितको मृत्यु भैसकेको छ । 

यही अवधिमा थप ७०८ जना संक्रमणमुक्त पनि भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ८ लाख २० हजार २८३ जना संक्रमणमुक्त भइसकेका छन् । निको हुने दर घटेर ९०.७ प्रतिशत पुगेको छ । देशभर हाल ७२ हजार ८६२ जना सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार थप १ लाख ९६ हजार ८५७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । हालसम्म १ करोड ६२ लाख ४२ हजार ४५६ जनाले पहिलो मात्रा, १ करोड २८ लाख ७० हजार ८६७ जनाले पूर्ण मात्र र १ लाख ४२ हजार ५८९ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन् ।

Comments

KATHMANDU WEATHER