काठमाडौं/२६ मङ्सिर
नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । निर्वाचन समितिले राष्ट्रिय सभागृहमा उम्मेदवारको अन्तिम नामावली टाँसेको हो ।
जस अनुसार सभापतिमा ५, दुई जना उपसभापतिका लागि ७, दुई जना महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ ।
शनिबार नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए । तीमध्ये पदाधिकारीमा उम्मेदवारी दिएका २ जना र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५५ जनाले मनोनयन फिर्ता लिएका छन् । प्रदेश २ का दुई केन्द्रीय सदस्य भने निर्विरोध भएका छन् ।
सभापति पदका लागि कल्याण कुमार गुरुङ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. शेखर प्रसाद कोइराला र शेरबहादुर देउवाको नाम प्रकाशित भएको छ । यसैगरी, दुई उपसभापति पदका लागि डा. चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरुङ, पूर्ण बहादुर खड्का, महेश आचार्य, विजय कुमार गच्छदार र सुजाता कोइराला समेत गरी सात जनाको नाम सूचिमा छ ।
यसैगरी, दुई केन्द्रीय महामन्त्रीका लागि गगन कुमार थापा, डा. प्रकाश शरण महत, प्रदीप पौडेल, डा. मिनेन्द्र रिजाल, डा. राजाराम कार्की र विश्व प्रकाश शर्माको नाम सूचिमा रहेको छ ।
महिला आरक्षण सिट अन्तर्गत सहमहामन्त्रीका लागि कमला पन्त र महालक्ष्मी उपाध्याय ‘डिना’को नाम प्रकाशित छ । दलित कोटा अन्तर्गतको सहमहामन्त्रीमा गंगा सुनार, जीवन परियार र मानबहादुर विश्वकर्माको नाम प्रकाशित गरिएको छ ।
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments