Byroad News

Loading...

काममा ढिलाइ गरे प्रजिअलाई फोन


काममा ढिलाइ गरे प्रजिअलाई फोन

नेपालगञ्ज/१६ मङ्सिर
‘सीडीओ साहेब, म मालपोत कार्यालयमा छु। चार घण्टा हुँदा पनि मेरो काम नै भएन।’ प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई अपरिचित मानिसको फोन आयो। अर्को अपरिचितले पनि उनीसँग फोनमा भने, ‘नापी कार्यालयमा मेरो काम नै भएन।’

दुवै जनाको फोनबाट गुनासो सुनेपछि प्रमुख जिल्ला अधिकारी खत्रीले गुनासो गर्ने सेवाग्राहीको नम्बर दिँदै मालपोत कार्यालय र नापी कार्यालयका प्रमुखलाई फोनमा भने, ‘यो नम्बरबाट मलाई फोन आएको छ। उनीहरुलाई तुरुन्त फोन गरेर बोलाएर के समस्या हो, बुझिहाल्नुस्।’

प्रमुख जिल्ला अधिकारीको फोनपछि सेवाग्राहीको काम भएछ। फेरि उनीहरुको फोन सीडीओलाई आएन।

बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले सबै कार्यालयमा सम्बन्धित कार्यालय प्रमुख र आफ्नो फोन नम्बर राखेर ‘काममा ढिलासुस्ती वा गुनासो भएमा फोन गर्नुहोला’ भनेर ब्यानर झुण्ड्याएपछि सेवाग्राहीले यसरी सीडीओ खत्रीलाई फोन गर्न थालेका हुन्।

प्रजिअ खत्रीले अनावश्यक ढिलासुस्ती रोक्न आफूले फोनमै गुनासो सुन्न थालेको बताए। ‘सेवाग्राहीले छिटो र छरितो सेवा पाऊन् भन्ने उद्देश्यले यस्तो गरेको छु, यसबाट सेवाग्राहीको काममा ढिलासुस्ती गर्ने कर्मचारी पनि पत्ता लाग्छ’, प्रजिअ खत्रीले भने, ‘हामीले काम गरेनौं भने सीडीओकहाँ खबर पुग्छ भन्ने कुराले कर्मचारीले छिटो काम गर्छन् भन्ने पनि हो।’

बाँकेका सीडीओ भएर आएपछि खत्रीले यो नयाँ कामको सुरुवात गरेका छन्। सबै कार्यालय प्रमुखहरुलाई बैठकमै यसबारेमा जानकारी गराइएको छ। सरकारी सबै कार्यालयमा ब्यानर राखिएको छ। कार्यालयमा पुगेका सेवाग्राहीसँग कर्मचारीले अनुचित रकम मागेमा त्यसको खबर सीडीओकहाँ पुगोस् भन्ने पनि उद्देश्य राखिएको छ।

Comments

KATHMANDU WEATHER