Byroad News

Loading...

नेतृत्वको व्यवस्थापन चुनावबाटै हुने ओलीको भनाई


नेतृत्वको व्यवस्थापन चुनावबाटै हुने ओलीको भनाई

काठमाडौं/७ मङ्सिर 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व चयनमा सहमतिका लागि आग्रहसमेत नगर्ने बताउनु भएको छ । मिलेर जानु राम्रो भएको, तर आफूले सहमतिका लागि आग्रह गर्दा दबाव दिएको देखिने भएकाले केही नबोल्ने बताउनु भयो ।

नयाँ नेतृत्व चयनका लागि एमालेको दशौं महाधिवेशन यही मङ्सिर १० गतेदेखि चितवनमा सुरु हुँदैछ । भर्खर पार्टी विभाजन भएको र स्थानीय तहदेखि प्रतिनिधिसभासम्मको निर्वाचन नजिक आएकाले पार्टी एकढिक्का रहेको सन्देश दिन सहमतिबाट नेतृत्व चयन गर्नुपर्ने मत चर्को सुनिएको छ, जसका कारण पदाधिकारीका आकांक्षीहरुले समेत उम्मेदवारी घोषणा गर्न सकेका छैनन् । अध्यक्ष ओलीले प्रस्ताव अघि नल्याएको र पार्टीमा छलफल नभएको भन्दै उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरे पनि अरु नेताहरु खुल्न सकेका छैनन् ।

मंगलबार स्थायी कमिटी बैठकमा पनि ओलीले यसबारे केही बताउनु भएन । स्थायी कमिटी बैठक केही घण्टालाई रोकेर सम्पादक तथा सञ्चारकर्मीहरुसँग अन्तर्क्रिया गरेका एमाले अध्यक्ष ओलीले मौनता तोड्दै भन्नु भएको छ, ‘सहमतिका लागि आग्रह गर्दिनँ, नेताहरुको व्यवस्थापन भने चुनाव लडेर भोट ल्याउनुपर्छ ।’

एमाले अध्यक्ष ओलीले नेताहरुले नै सहमति गरे आफूले सहज स्वीकार गर्ने बताउनु भयो । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवहरुमा कर लगाएर उठिदिनुस् न भन्न पाए झन् राम्रो हुने उहाँले बताउनु भयो । तर आफूले आग्रह मात्र गर्दा पनि दबाव पर्न सक्ने भन्दै एमाले अध्यक्ष ओलीले भन्नु भयो, ‘लोकतान्त्रिक अभ्यासमा मनोवैज्ञानिक पनि दबाव पुग्ने काम गर्दिन । मैले आग्रह मात्र गर्दा पनि दबाव पर्न सक्छ, त्यसकारण म आग्रह पनि नगरी बस्छु भनेको छु ।’

तर पार्टीमा त पूर्व माओवादी, १० बुँदे सहमति गरेर पार्टीमा बसेकाहरुको व्यवस्थापन गर्नुपर्ने छ होइन र भन्ने प्रश्नमा उहाँले चुनावले नै व्यवस्थापन गर्ने बताउनु भयो । ‘एक ठाउँमा भइसकेपछि हामी एक छौं । त्यसकारण यो पक्षको व्यवस्थापन, त्यो पक्षको व्यवस्थापन भन्ने छैन,’ उहाँले भन्नुभयो, ‘अहिलेको व्यवस्थापन भने चुनाव लडेर भोट ल्याउनुपर्छ । जुन पदमा भोट ल्याएर जित्छ, त्यही हो व्यवस्थापन । भोट ल्याएर जितेन भने त्यही हो व्यवस्थापन ।’ यो पक्ष, त्यो पक्षको व्यवस्थापन भन्न थाले पार्टीमा पक्ष विपक्षको नयाँ श्रृङ्खला सुरु हुने उहाँले बताउनु भयो ।

Comments

KATHMANDU WEATHER