आजदेखि ई—पासपोर्ट जारी गरिँदै
अत्यावश्यक परे एमआरपी पनि जारी गरिने
काठमाडौं/१ मंसिर
सरकारले आजदेखि विद्युतीय राहदानी (ई—पासपोर्ट) जारी गर्न सुरु गरेको छ ।
राहदानी विभागको त्रिपुरेश्वरथित नयाँ भवनमा आज आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री नारायण खड्काले ई—पासपोर्ट सार्वजनिक गरेर सुरु गरिन लागेको हो ।
ई—पासपोर्ट अन्तर्राष्ट्रिय स्तरमा हाल प्रचलनमा छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)ले ई—पासपोर्टलाई सुरक्षित भनेर परिभाषित गरेको छ ।
अहिलेसम्म नेपालले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गरिरहेको छ ।
विभागले मंसिर १ गतेदेखि आंशिक रुपमा शुरु हुने ई—पासपोर्ट वितरण एक हप्ताभित्रै पूर्ण सेवामा रुपान्तरण गर्ने योजना बनाएको छ । पूर्ण रुपमा ई—पासपोर्ट वितरण नभइन्जेल विभागले अत्यावश्यक परेर वा स्वेच्छिक रुपमा बनाउन चाहानेलाई एमआरपी पनि वितरण पनि गरिरहने विभागले जनाएको छ ।
एमआरपी प्रणालीको तथ्यांक नयाँ प्रणालीमा सार्न र छपाइको काम प्रभावकारी बनाउन विभागले शुरुआतमा दुबै खालका पासपोर्ट वितरण गर्ने तयारी गरेको हो ।
सन् २०२० को डिसेम्बर २० मा राहदानी विभागले फ्रान्सको ‘आईडीईएमआईए आइडेन्टी एण्ड सेक्युरिटी’सँग ई—पासपोर्ट छपाइको लागि दुई अर्ब ४८ करोड रुपैयाँमा खरिद सम्झौता गरेको थियो । सम्झौताअनुसार १० महिनाभित्र कम्पनीले ई(पासपोर्टको वितरणका लागि सबै काम सकाउनुपर्ने थियो । विभागले लक्ष्यअनुसार नै समयमै काम सकेको छ ।
ई पासपोर्टमा राष्ट्रपतिको कार्यालय शितल निवासदेखि इलामको चिया बगानसम्मका तस्वीरहरू राखिएका छन् ।

Comments