थाहानगर/२३ कात्तिक
दशैंअघिबाट सुचारु गरिएको चित्लाङ–थानकोट सडक आगामी २८ कात्तिकदेखि पूर्णरुपमा बन्द हुने भएको छ ।
मुख्य चाडबाड सकिएलगत्तै अब निर्माणको काम अघि बढ्ने भएकोले अर्को सूचना नभएसम्मका लागि सवारी आवागमन पूर्णरुपमा बन्द गर्न लागिएको चित्लाङ–चन्द्रागिरी–थानकोट सडक निर्माण सरोकार समितिले जनाएको छ ।
रामशरण नेपालको अध्यक्षता र संविधान सभा सदस्य सुभाषचन्द्र ठकुरीको उपस्थितिमा २२ कात्तिकमा बसेको सरोकार समितिको विस्तारित बैठकले २६ कात्तिकबाट सडक निर्माणको काम पुनः शुरु गर्ने र २८ कात्तिकबाट पूर्णरुपमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो ।
‘कैलाश, थाहा र इन्द्रसरोवरका बासिन्दालाई काठमाडौं आउजाउ गर्न बाटो क्लियर छ, तर सडक निर्माण जारी रहँदा जोखिम हुने भएकोले बन्द गर्ने निर्णय गरिएको हो’ सडक निर्माणका अभियन्ता बुद्धरत्न मानन्धरले बताउनु भयो ।
चित्लाङ थानकोट सडकअन्तर्गत् थानकोट–चन्द्रागिरी खण्डको ठेक्काको म्याद आगामी चैतबाट सकिने हुँदा तोकिएको म्यादभित्र तोकिएका काम सक्नु निर्माण पक्षमाथि दवाव छ ।
सडक निर्माण सरोकार समितिका अनुसार थानकोटबाट २५०० मिटरदेखि ८२५० मिटरसम्मको सडकको ‘ट्रयाक क्लियर’ भइसकेको छ । यो खण्डको पानीघाट घुम्तीमा रेडियस र ग्रेड मिलाउने कामबाट अघि बढेको समितिले ३१६० मिटर सडकमा मेशिनरी वाल उठाउने, ३४२० मिटर सडकसम्म डाउन गर्ने, ३५८० मिटर सडकसम्म २ मिटर माटो भर्ने, ३७८० मिटरसम्म ढिस्को काट्ने, पहिरो हटाउने, खोल्छीको मोडलाई २५ मिटरको रेडियसमा घुमाउने लगायतको काम भएका छन् । त्यस्तै डोजर झरेको मोडमा रक कटिङ गर्नेदेखि कतिपय मोडलाई ३० मिटरसम्म पर धकेलिएको छ भने सेतो पहरालाई समेत छिचोल्न सफल भएको छ ।
सडक निर्माणका मुख्य अभियन्ता सुभाषचन्द्र ठकुरीका अनुसार अँधेरी खोल्छामा रक कटिङ गरेर उजेली खोल्छा बनाइएको छ भने ३ वटा अप्ठ्यारा घुम्तीहरुलाई ‘क्यान्सिल’ गरिएको छ । ठकुरीले थानकोटदेखि चन्द्रागिरीसम्म सडक छिचोल्दा यसलाई सामान्य हिसाबले ‘ट्रयाक ओपन’ भनिए पनि त्यो भन्दै धेरै गरिएको बताउनु भयो । उहाँले ७९०० मिटर सडकमा २२ मिटर अगाडि अर्को मोड बनाएर ढिस्को कटिङ गरेर नमुना प्राकृतिक वालसमेत निर्माण गरिएको जानकारी दिनुभयो ।
ठकुरीका अनुसार अब छाप्रोमाथिको खोल्छीको मोड सुधार गर्नुपर्ने, थुप्रेको माटो फाल्नुपर्ने, डोजर झरेको मोडमा ३ मिटर बाहिर आउनेगरी वाल लगाउनुपर्ने, सबै ठाउँमा १० मिटर हुनेगरी चौडा बनाउनुपर्ने, पश्चिम ६ किलोमिटरको मोडमा ३ मिटर बाहिर वाल लगाउनुपर्ने, अधेरी खोल्छीको बाटो फराकिलो बनाउनुपर्ने, राम्चेको जेड कटिङसम्मको सिङ्गल बाटोलाई डबल बनाउनुपर्ने जस्ता कामहरु गर्नुपर्ने समितिले जनाएको छ ।
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments