वीरगञ्ज/३१ साउन
वीरगञ्ज महानगरपालिकाका विद्यालय सञ्चालनमा आएका छन् । आइतबारबाट ८ देखि १२ सम्मका कक्षा विद्यार्थीको भौतिक उपस्थितिमा सञ्चालनमा ल्याइएको हो ।
तर, विद्यार्थीको उल्लेख्य उपस्थिति भने देखिएको छैन । विद्यालय निरीक्षक दिनेश चौरसियाले पहिलो दिन ५० प्रतिशत विद्यार्थी विद्यालयमा उपस्थित भएको जानकारी दिनुभयो ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि पर्सामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइएको थियो । जसका कारण विद्यार्थीको पढाइ लामो समयदेखि प्रभावित भइरहेको थियो । निजी विद्यालय र केही सामुदायिक विद्यालयहरुले माथिल्लो कक्षालाई अनलाइन प्रविधि मार्फत पठनपाठन गराउँदै आएका भए पनि सामुदायिक विद्यालयका अधिकांश विद्यार्थी पढ्नबाट बञ्चित थिए ।
वीरगञ्ज महानगरपालिकाले साउन २७ गते सरोकारवालासँग छलफल गरेपछि दोस्रोपटक विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने भनी सूचना जारी गरेको थियो । कोरोना संक्रमण घटेका कारण महानगरले असार १५ गतेखि नै विद्यालय सञ्चालन गर्ने तयारी थालेको थियो । तर जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन समितिले निषेधाज्ञा हटाई बजार खोल्ने निर्णय गरे पनि विद्यालय सञ्चालनमा रोक लगाएपछि विद्यालय खुल्न सकेका थिएनन् ।
विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा, २०७७ अनुसार पहिलो चरणमा जनस्वास्थ्य मापदण्डको पालना गर्दै अभिभावकको स्वीकृतिमा कक्षा ८ देखि १२ सम्मको पठनपाठन भौतिक उपस्थितिमा गरिएको वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिनुभयो ।
महानगर प्रमुख विजयकुमार सरावगीले स्थानीय तहले पाएको अधिकार प्रयोग गर्दा सहयोग गर्नुपर्ने निकायले अड्को थापेर बस्दा विद्यालय सञ्चालनमा ढिलाइ भएको बताउनु भयो ।
अवस्था सामान्य बन्दै गए थप कक्षाहरु समेत संचालन गर्ने तर अवस्था बिग्रिएमा फेरि विद्यालय बन्द गर्ने सरावगीले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकरी पिताम्बर घिमिरेले वीरगञ्जमा कोरोना संक्रमण घटेकाले विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ अनुसार विद्यालय सञ्चालन गर्न महानगरले गरेको अनुरोधलाई स्वीकार गरेको जानकारी दिनुभयो ।
-
19 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments