Byroad News

Loading...

१२ कक्षाको परीक्षा मोडल फेरि अन्यौल !


१२ कक्षाको परीक्षा मोडल फेरि अन्यौल !

काठमाडौं/१८ साउन
कोरोना संक्रमितको संख्या बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ कक्षाको परीक्षा भर्चुअल गर्ने कि भौतिक रुपमा गर्ने भन्ने विषयमा अन्यौल छाएपछि छलफल अघि बढाएको छ ।

शिक्षा मन्त्रालयले १२ कक्षाका परीक्षार्थीलाई कक्षामा भौतिक रुपमा उपस्थित भएर गराउने निर्णय गरिसकेको छ । जुन विद्यालयमा पढेको हो त्यही विद्यालयमा परीक्षा गराउन राष्ट्रिय परीक्षा बोर्डले साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिसकेको छ । यसअघि जेठ २६ मा तय भएको परीक्षा कोरोनाको दोस्रो लहर सुरु भएपछि रोकिएको थियो ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालय भौतिक रुपमा परीक्षा सञ्चालन गर्न नहुने पक्षमा उभिएको हो । ‘आन्तरिक मूल्यांकनबाट परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग समन्वय गर्छौं,’ स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले भन्नुभयो, ‘सीसीएमसीसँग पनि यस विषयमा छलफल गर्छौं ।’ भौतिक परीक्षा सञ्चालन गर्दा संक्रमण फैलन सक्ने मन्त्रालयले आकलन गरेको छ ।

भौतिक रुपमा परीक्षा नगर्ने हो भने कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको सिफारिसमा मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने हुन्छ ।

राज्यमन्त्री श्रेष्ठले सोमबारको पत्रकार सम्मेलनमा कक्षा १२ सहित सबै तहको परीक्षा आन्तरिक मूल्यांकनबाट गर्न शिक्षा मन्त्रालयसँग छलफल गरिने बताउनु भयो । पत्रकार सम्मेलन सकिएलगत्तै श्रेष्ठले सीसीएमसीका प्रमुख कार्यकारी अधिकृत बालानन्द शर्मासँग पनि छलफल गर्नु भएको छ । ‘परीक्षा रोक्ने भन्ने होइन । भौतिक रुपमा गर्ने कि घरमै बसेर भर्चुअल्ली गर्ने भन्नेमा छलफल भइरहेको छ । भोलि पनि छलफल छ,’ श्रेष्ठले बताउनु भयो ।

संसद्‌को शिक्षा र स्वास्थ्य समितिले स्वास्थ्यकर्मीसहितको हेल्थ डेक्सको व्यवस्था गरेर सुरक्षित तरिकाले परीक्षा सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ । त्यस्तै, परीक्षामा सहभागी हुने विद्यार्थीलाई खोपको व्यवस्था गर्न समेत समितिले सुझाव दिएको छ । समितिको निर्देशन र सुझाव कार्यान्वयन गर्न आवश्यक सहयोग गरिदिन भन्दै शिक्षा मन्त्रालयले स्वास्थ्यलाई पत्राचार समेत गरेको छ ।

Comments

KATHMANDU WEATHER