Byroad News

Loading...

ह्वात्तै बढ्यो कोरोना सङ्क्रमितको ग्राफ, यी हुन् बढी संक्रमित रहेका जिल्लाहरु:


ह्वात्तै बढ्यो कोरोना सङ्क्रमितको ग्राफ, यी हुन् बढी संक्रमित रहेका जिल्लाहरु:

काठमाडौं/१४ साउन
नेपालमा पछिल्ला केही दिनयता कोरोना भाइरसका सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको छ । निषेधाज्ञा खुकुलो भएपछि सार्वजनिक स्थानमा भिडभाड, जमघट र नाराजुलुश गर्ने क्रम बढेसँगै कोरोना सङ्क्रमितको सङ्ख्या बढेको हो ।    

पछिल्लो पाँच दिनको तथ्याङ्क हेर्ने हो भने कोरोना सङ्क्रमितको ग्राफ निरन्तर उकालो लागेको देखिन्छ । स्वास्थ्य मन्त्रालयका अनुसार यसै साताको आइतबारदेखि आज बिहीबारसम्म १६ हजार ७६२ जना नयाँ सङ्क्रमित थपिएका छन् । यस अवधिमा ८ हजार ८८० जना निको भएर घर फर्किएका छन् भने ११२ जनाले ज्यान गुमाएका छन् ।   

फेरी नेपालमा कोरोना भाइरसको संक्रमणदर ह्वात्तै बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारी बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, ‘साउन लागेयता कोरोना संक्रमणदर निरन्तर उकालो लागिरहेको छ । अहिले कोरोना संक्रमणदर हेर्ने हो भने पनि २४.२ प्रतिशत छ ।’     

जम्मा १७ हजारमा कोरोना परीक्षण गर्दा करिब चार हजारलाई कोरोना पोजेटिभ देखिने गरेको उहाँले बताउनु भयो ।               

त्यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले पछिल्लो केही दिन यता कोरोना सङ्क्रमितहरू अस्पताल आउने क्रम बढेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘स्थिर रहेको कोरोना सङ्क्रमण निषेधाज्ञा खुकुलो भएसँगै बढ्दो छ । अहिले टेकु अस्पतालमा दैनिक १५ देखि २५ जनासम्म कोरोना सङ्क्रमणका बिरामीहरू इमरजेन्सी कक्षमा भर्ना हुने गरेका छन् ।’  

कोरोना संक्रमणदर यसरी नै बढ्दै जाने हो भने तेस्रो लहर आउन सक्ने कुरालाई नकार्न नसकिने उहाँले बताउनु भयो। उहाँले भन्नुभयो, ‘पछिल्लो केही दिन यताको तथ्याङ्क हेर्ने हो भने दैनिक तीन हजार भन्दा बढी सङ्क्रमित थपिएका छन् । यसरी नै संक्रमणदर बढ्यो भने तेस्रो लहर नआउँदा भन्न सकिँदैन ।’    

साथै उहाँले कोरोना भाइरसको तेस्रो लहर आएमा सबै उमेर समूह प्रभावित हुने बताउनु भयो ।  सम्भाव्य तेस्रो लहर न्यूनीकरणका लागि सबैले जनस्वास्थ्यका मापदण्डहरूको कडाइकासाथ पालना गर्न पनि उहाँले आग्रह गर्नु भएको छ ।    

हाल ३२ जिल्लामा सबै भन्दा बढी सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, नवलपरासी पूर्व, कास्की र रुपन्देहीमा हाल पाँच सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् ।    

त्यस्तै, धनुषा, बारा, सप्तरी, सिराहा, दोलखा, काभ्रेपलान्चोक, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, स्याङ्जा, वाग्लुङ, तनहुँ, लमजुङ, बर्दिया पाल्पा, दाङ, सुर्खेत, जुम्ला, कैलाली र कञ्चनपुरमा हाल दुई सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।   

Comments

KATHMANDU WEATHER