Byroad News

Loading...

विद्यालय खोल्ने विषयमा सीसीएमसीमा छलफल


विद्यालय खोल्ने विषयमा सीसीएमसीमा छलफल

काठमाडौं/१४ साउन
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विद्यालय तथा विश्वविद्यालय कसरी सञ्चालन गर्ने भन्ने विषयमा सरोकारवालाको धारणा बुझेको छ ।

बिहीबार सीसीएमसी र सरोकारवालाहरुबीच शैक्षिक संस्था सञ्चालन कसरी गर्ने भन्ने विषयमा छलफल भएको हो । छलफलमा सरोकारवालाहरुले केन्द्रीकृत निर्णय गर्न नहुने, जोखिम कम भएका र विद्यार्थीको संख्या कम भएको स्थानीय तहका विद्यालयहरु खोल्न अनुमति दिनुपर्ने बताएको सीसीएमसीका प्रवक्ता नुरप्रसाद खतिवडाले जानकारी दिनुभयो ।

सहभागीमध्ये अधिकांशले लामो समयसम्म विद्यालय, विश्वविद्यालय बन्द गरिरहन विद्यार्थी र राज्यका लागि नै घाटा भएकाले विकेन्द्रीकृत निर्णय गर्ने व्यवस्था हुनुपर्नेमा जोड दिएका थिए ।

शिक्षासँग सम्बन्धित व्यक्तिहरुसँगको छलफलले शैक्षिक संस्था सुचारु गर्नका लागि स्थानीय तहले निर्णय गर्न सक्ने परिस्थिति बनाउन सहज हुने खतिवडाले बताउनु भयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले कम विद्यार्थी भएका विद्यालयका विषयमा सोच्न सकिने भए पनि बढी विद्यार्थी भएका विद्यालयलाई तत्काल खुलाउन अनुमति दिन नसकिने बताउनु भयो।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले शिक्षक र विद्यार्थीलाई खोप दिएर मात्र परीक्षा सञ्चालन गर्नु उपयुक्त हुने धारणा राख्नु भयो

छलफलमा सहभागीहरुले सय जनाभन्दा कम विद्यार्थी भएको, जोखिम क्षेत्र कम भएको स्थानमा विद्यालय खोल्न अनुमति दिनुपर्ने, उमेर पुगेका विद्यार्थी एवं शिक्षकलाई खोपको व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए । सिकाइलाई नियमित गर्न संघीय सरकारले मापदण्ड बनाइदिनुपर्ने पनि उहाँहरुले बताउनु भएको छ ।

Comments

KATHMANDU WEATHER