Byroad News

Loading...

शुक्रबार थाहाका ५ सय व्यवसायीलाई भेरोसेल खोप लगाइने


शुक्रबार थाहाका ५ सय व्यवसायीलाई भेरोसेल खोप लगाइने

थाहानगर/१३ साउन
थाहानगरका ५ सय उद्योगी व्यवसायीहरुलाई आउँदो शुक्रबार अर्थात साउन १५ गते भेरोसेल खोप लगाइने भएको छ ।

शुक्रबार विहान १० बजेदेखि बेलुकी ४ बजेसम्म थाहानगर उद्योग वाणिज्य संघको कार्यालय शिखरकोटबाट ५ सय व्यवसायीहरुलाई खोपको पहिलो डोज लगाउन लागेको संघका महासचिव सुरेन्द्रमान प्रधानले जानकारी दिनुभयो ।

संघको बुधबार बसेको कार्यसमितिको बैठकले खोप लगाउन अनलाइन फाराम भरेर (अनलाइन फाराम भर्न यहाँ क्लिक गर्नुहोस् https://vaccine.mohp.gov.np/) सोको स्कीन सर्ट र कुनै पनि निकायमा आफ्नो व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि वा सो पनि फोटोसहित आउने व्यवसायीलाई खोप लगाउन प्राथमिकता दिने निर्णय गरेको छ ।

संघले १८ वर्षदेखि माथि सरकारले खोप लगाउन अनुमति दिएका उमेर समुहसम्मलाई खोप उपलब्ध गराउन लागेको हो । "अनलाइन फाराम भरेर सो दिन नपुगेका व्यवसायीहरुलाई फेरि अर्को चरणमा लगाउने व्यवस्था गरिनेछ, त्यसको लागि नगरपालिकासङ्ग पनि सहकार्य भईरहेको छ ।" संघका अध्यक्ष कबिराज खत्रीले भन्नुभयो, "सबैका लागि खोप अनिवार्य छ, धैर्य गरेर बसौं, ढिलोचाडो सबैलाई खोप उपलब्ध गराउन हामी प्रयत्नशील छौँ ।" 

थाहानगर उद्योग वाणिज्य संघले लामो समयदेखि थाहा नगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयमा खोप उपलब्ध गराउन माग गरिरहेको थियो । 

व्यवसायी कै नाममा ल्याइएको ५ सय डोज खोप संघ कै व्यवस्थापनमा लगाउने व्यवस्था मिलाइएको थाहानगरका मेयर लवशेर विष्टले बताउनु भयो । 

संघले तत्काल ९ सय डोज खोप माग गरेको थियो ।

Comments

KATHMANDU WEATHER