Byroad News

Loading...

दक्षिणी धादिङमा निर्देशन विपरित विद्यालय सुचारु, थाक्रे—५ मा फेरि बन्द


दक्षिणी धादिङमा निर्देशन विपरित विद्यालय सुचारु, थाक्रे—५ मा फेरि बन्द

सुरेन्द्रमान प्रधान/थाक्रे, धादिङ
जिल्ला प्रशासन कार्यालय धादिङले साउन २० गतेसम्म निषेधाज्ञा थप गर्दै विद्यालयहरुको भौतिक पठनपाठन कार्य सञ्चालन गर्न निषेध गरिएको छ । तर, दक्षिणी धादिङका विद्यालयहरुले धमाधम भौतिक उपस्थितिमै पठनपाठन गराइरहेका छन् । 

थाक्रे गाउँपालिकामा ४५ वटा सामुदायिक र ४ वटा संस्थागत विद्यालयहरु छन् ती सबैले भौतिक रुपमा कक्षा संचालन गरिरहेका छन् तर थाक्रे ५ स्थित आदर्श माविका कार्यालय सहयोगीमा हिजो सोमबार कोरोना संक्रमण पुष्टि भएपछि आदर्शलगायत थाक्रे ५ का शिवशंकर, शारदा र सुन्दरीदेवी आज मंगलबारदेखि पुन: अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ । 

धादिङका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले ती विद्यालयहरु भौतिक रुपमा संचालन भएको कुरा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिनुभयो । ‘उहाँहरु आफै जिम्मेवार हुने गरेर सञ्चालन गर्नु भएको होला तर हामीसँग कुनै समन्वय गरेको अवस्था छैन ।’ प्रजिअ ढकालले भन्नुभयो ।

उता धुनबेसी नगरपालिका शिक्षा शाखा प्रमुख सुजनराज खनालले कुनै पनि विद्यालयलाई अनिवार्य रुपले भौतिक कक्षा सञ्चालनका लागि दबाद नदिएको बताउनु हुन्छ । खनालका अनुसार शिक्षकहरुलाई नियमित रुपले विद्यालयमा उपस्थित भई कुनै न कुनै रुपमा विद्यार्थीको सिकाइ क्रियाकलापमा जोड्न मात्र निर्देशन दिइएको भएपनि अधिकांश विद्यालयहरुले भौतिक रुपमा कक्षा सुरु गरिसकेका छन् । 

केहि विद्यालयहरुले आगामी आइतबारदेखि विद्यालय संचालन गर्ने तयारी गरिरहेको बुझिएको छ । शिक्षा शाखा प्रमुख खनालले आफ्नो गाउँ टोलको अवस्था हरेर विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार गर्न भनिएको बताउनु भयो । 

खनालले भन्नुभयो, ‘आफ्नो समुदायको अवस्था जस्तो छ, त्यस्तै अवस्था अनुसार गर्नु भन्ने हाम्रो कुरा हो, सबैलाई अनिवार्य भौतिक रुपले विद्यालय खोल्न हामीले निर्देशन दिएका छैनौँ । अब अहिले पनि कोरोना लागेर मान्छे नै मरे पनि कसले जिम्मा लिएको छ र ?’ 

उता, थाक्रे गाउँपालिका शिक्षा शाखा प्रमुख अनिता खनालले थाक्रे गाउँपालिकामा भौतिक रुपले कुनै पनि विद्यालयहरु खोल्न निर्देशन नदिएको र खुलेको समेत जानकारी नभएको प्रतिक्रिया दिनुभयो । उहाँले साउन १० गते प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको बैठक राखी बैकल्पिक शिक्षण सिकाइ क्रियाकलापलाई सुचारु गर्ने मात्र निर्णय भएको बताउनु भयो । 

खनालका अनुसार थोरै विद्यार्थी भएका विद्यालयहरुमा जोर विजोर प्रणाली अपनाएर सिकाइ क्रियाकलाप गर्न भनिएको हो तर, अधिकांश विद्यालयहरुले भने सामान्य अवस्था जस्तै नियमित विद्यालय संचालन गरिएको छ । थाक्रेमा कतिपय विद्यालयलहरुले साउन ४ गतेदेखि नै पठनपाठन सुरु गरिसकेका छन् । 

बाइरोडले स्थलगत अवलोकन गर्दा विद्यालयबाट फर्किरहेका विद्यार्थीहरुले स्वास्थ्य सुरक्षाको कुनै पनि मापदण्ड पालना गरिएको देखिएन । बाइरोडसँग प्रतिक्रिया दिँदै एक अभिभावकले भन्नुभयो, ‘स्कुल खुलेको छ, बच्चाहरु पठाइ दिनु भनेर खबर आएको थियो तर, मैले यस्तो महामारीको अवस्थामा विद्यालय पठाउन हिम्मत गरिनँ ।’

प्रमुख जिल्ला अधिकारी ढकालले विद्यालयहरु खुलेको जानकारी आफूलाई नभएको बताउनु हुँदै यथार्थ अवस्था बुझेर निषेधाज्ञाको पालना गर्न निर्देशन दिने बताउनु भयो । 
 

Comments

KATHMANDU WEATHER