थाहानगर/१ साउन
थाहा नगरपालिकाका लागि ल्याइएको खोप नपुग्दा शुक्रबार खोप लगाउन आएकाहरु फर्किनु पर्यो ।
थाहा नगरका शिक्षक, बिद्यालयमा कार्यरत कर्मचारी, बिद्यालयका सवारी चालक र ५५ वर्ष माथिका उमेर समूहका लागि कोटा छुट्याएर जिल्लाबाट पठाइएको १९५० डोज खोप पुरै खर्च भएपछि लाइनमा बसेकाहरु पनि फर्किएका थिए ।
सार्वजनिक यातायातका चालक तथा सहचालकलाई समेत खोप लगाउने हल्ला सुनेर आएका चालकहरुले खोप नपाएपछि आक्रोसित भएर फर्किएका थिए । "चालकहरुका हकमा सम्बन्धित यातायात व्यवसायी संघले पठाइएको लिस्टअनुसार जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत गरि पठाउनु पर्ने निर्देशन छ" थाहानगर स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले भन्नुभयो, "थप खोप माग गरिएको छ सायद छिट्टै आउनेछ ।"
शुक्रबारसम्म थाहानगरमा ४०६२ जनाले पहिलो डोज खोप लगाएका छन् । "अब थप ३ हजार खोप माग गरेका छौँ, सायद अर्को हप्तासम्ममा आउने कुरा छ ।" थाहानगरका मेयर लवशेर विष्टले बाइरोडसङ्ग भन्नुभयो, "नगरका सबैलाई खोप लगाउने अभियान छ, सम्बन्धित निकायमा माग गरेका छौँ ।"
यसैबीच, अग्रपंक्तिमा सेवामुलक व्यवसाय गरिरहेका व्यवसायीहरुलाई अहिलेसम्म खोपको प्राथमिकतामा नराखेको प्रति थाहानगर उद्योग वाणिज्य संघले थाहा नगरपालिकाको ध्यानाकर्षण गराएको छ । शुक्रबार मेयर विष्ट र स्वास्थ्य शाखा बलामीसङ्ग थाहानगरका व्यवसायीका लागि तत्काल ७ सय डोज खोप उपलब्ध गराउन माग गरेको छ । संघका महासचिव सुरेन्द्रमान प्रधानले तत्काल खोपको माग गर्नु भएको हो । मेयर विष्टले प्रधानलाई अब आउने खोपमा व्यवसायीलाई प्राथमिकता दिने आश्वासन दिनु भएको छ ।
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments