भोलि र पर्सी थाहा नगरका सबै स्वास्थ्य केन्द्रहरुमा खोप लगाइँदै, क—कसले पाउँछन् ?
यस पटक सबै शिक्षक, चालक, सहचालक र ५५ वर्षमाथिका सबैले भेरोसेल खोप पाउने
थाहानगर/३० असार
अहिलेसम्म कोभिड—१९ (कोरोना भाइरस) खोपको पहिलो डोज नपाएकाहरुलाई भोलि असार ३१ गते र साउन १ गते थाहाका सबै स्वास्थ्य केन्द्रहरुमा खोप लगाइने भएको छ ।
तर, यस पटक सामुदायिक तथा निजी विद्यालयका शिक्षक, कर्मचारीहरुले पनि खोप लगाउन पाउनेछन् । खोप लगाउनका लागि सम्बन्धित निकायबाट जारी गरिएको परिचय पत्र अनिवार्य बोक्नु पर्नेछ ।
विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी तथा चालक, सहचालकका हकमा भने विद्यालयबाट जारी परिचय पत्र वा विद्यालयको पत्र अनिवार्य गरिएको छ । यसैगरी, चालक तथा सहचालकका हकमा थाहानगरबाट संचालित सार्वजनिक सवारी चालक वा सहचालक भएको प्रमाण खुल्नु पर्नेछ ।
यी बाहेक यस अघि छुटेका वा नलिएका ५५ वर्ष माथिका सबै नागरिकले खोप पाउने छन् । त्यसका लागि नागरिकता प्रमाणपत्र साथमै लैजानु पर्नेछ ।
थाहा नगरका लागि यस पटक १९५० डोज भेरोसेल खोप आएको छ । 

Comments