Byroad News

Loading...

त्रिभुवन राजपथ कालोपत्रे: अब चाहिँ भदौबाट मात्र हुन्छ


त्रिभुवन राजपथ कालोपत्रे: अब चाहिँ भदौबाट मात्र हुन्छ
  • सुरेन्द्रमान प्रधान/३० असार

त्रिभुवन राजपथको दामन—शिखरकोट खण्डमा हाल भइरहेको कालोपत्रे आज ३० असारबाट भने रोकिएको छ।

रोजन निर्माण सेवाका प्रोजेक्ट मेनेजर प्रभात देवकोटाले बाइरोड सम्पादक सुरेन्द्रमान प्रधानसँग टेलिफोनमा कुरा गर्दै अब भदौबाट मात्र काम गर्ने बताउनु भएको हो । ‘अहिले काम नगर्नु भन्ने निर्देशन आएको छ, अब बाँकी काम भदौबाट मात्र हुनेछ ।’ देवकोटाले बताउनु भयो । 

एक हप्ताअघिदेखि कम्पनीले डिभिजन सडक कार्यालयको निर्देशनलाई अटेर गर्दै दामनदेखि शिखरकोटसम्मका विभिन्न भागहरुमा जथाभावी गुणस्तरहीन काम गर्दै आइरहेको थियो । बाइरोड न्युजले स्थलगत रिपोर्टिङ गर्दै डिभिजन सडक कार्यालय हेटौंडाका प्रमुख खड्ग श्रेष्ठ र इन्जिनियर लोमस उपाध्यायलाई पटक पटक फोन गरी कम्पनीले गुणस्तरहीन कालोपत्रे गरिरहेको जानकारी गराउँदै आएको थियो । फोनमा डिभिजन सडक कार्यालयका प्रमुख श्रेष्ठ, इन्जिनियर उपाध्यायले ‘यो वर्षामा काम रोक्न भनिसकेका छौँ, अब भदौबाट मात्र काम हुन्छ ।’ भन्ने जवाफ बाइरोडलाई दिने गरिएपनि कम्पनीलाई भने कुनै निर्देशन नआएको बताउँदै जर्वजस्ती कालोपत्रे गर्दै आइरहेका थिए । ‘जहाँ जहाँ बिग्रिएको छ,। त्यहाँ फेरि कालोपत्रे गछौँ ।’ निर्माण कम्पनीले लगातार यहि जवाफ दिइँदै आएको थियो । 

बाइरोडले लगातार स्थलगत नै कालोपत्रेको रिपोर्टिङ गर्दै डिभिजन सडक कार्यालयलाई खबरदारी गर्दै आइरहेकोमा बुधबार मात्रै निर्माण कम्पनीका तर्फबाट काम रोकेका छौँ भन्ने जवाफ प्राप्त भएको छ । तर, सो जवाफ दिनुभन्दा आधा घण्टा अगाडि मात्र दामनस्थित तल्लो बजारमा पानीमै कालोपत्रे गरेको भिडियो बाइरोडले प्राप्त गरेको छ । सो भिडियो डिभिजन सडक कार्यालयका प्रमुख श्रेष्ठलाई इमेल मार्फत् पठाइएको छ । 

प्रमुख श्रेष्ठले यो अवधिमा गरिएका कामहरुको भुक्तानी कुनै पनि हालतमा नहुने समेत आश्वस्त पार्नु भएको छ । ‘हामीले गुणस्तर जाँच नगरी कुनै पनि हालतमा भुक्तानी दिँदैनौ, ढुक्क हुनुस्, राम्रो काम नभएका स्थानहरुमा फेरि काम गर्न लगाउँछौँ ।’ प्रमुख श्रेष्ठले बताउनु भयो । 

कम्पनीले कालोपत्रे गरेको झिरघारी—दामनसम्मका अधिकांश स्थानहरुमा कालोपत्रे उप्किसकेको छ । सिमभञ्ज्याङ, पानोरोमा, सिमखोला, ऋषेश्वर गेट मूनि, वागवाणी, दामन (नयाँ टावर मूनि), होटल सुनगाभा क्षेत्र, होटल पाइनस क्षेत्र, छेडालगायतका स्थानहरुमा गरिएको कालोपत्रे उप्किसकेको देखिन्छ । 

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् । 

https://www.facebook.com/1653944131/videos/835918627036605/

Comments

KATHMANDU WEATHER