Byroad News

Loading...

खाने तेलको भाउ लिटरको २० देखि ४० रुपियाँ घट्यो


खाने तेलको भाउ लिटरको २० देखि ४० रुपियाँ घट्यो

काठमाडौं/२७ असार
आठ महिनादेखि निरन्तर उकालो लागेको खाने तेलको मूल्य घट्न थालेको छ । तेल उत्पादनका लागि आयात गरिने कच्चा पदार्थको अन्तर्राष्ट्रिय मूल्य घटेपछि खाने तेल सस्तिएको उद्योगीहरुले बताएका छन् ।

पछिल्लो दुई सातामा भटमास र सूर्यमूखी तेलको बजार मूल्य प्रतिलिटर २० देखि ४० रुपियाँसम्म सस्तो भएको उद्योगी कुमुद दूगडले बताउनु भयो ।

सूर्यमुखी र भटमासको तेलको कच्चा पदार्थ एक मेट्रिक टनमा तीन सय डलरसम्मले सस्तो हुँदा तेलको खुद्रा मूल्य घटेको उहाँले बताउनु भयो ।

नेपालमा भारत, ब्राजिल, अर्जेन्टिनालगायतका देशबाट खाने तेल उत्पादनका लागि कच्चा पदार्थ ल्याइन्छ । 

नेपाल खुद्रा ब्यापार संघका अनुसार यस अघि प्रतिलिटर २६५ देखि २७० रुपियाँ रहेको सूर्यमुखी प्रशोधित तेलको मूल्य २३५ देखि २४० मा झरेको छ । सूर्यमुखी तेल प्रतिलिटर २३५ रुपियाँसम्म बिक्री गर्न सकिने मूल्य होलसेलबाट आएको संघका कार्यकारणी सदस्य ध्रुव अधिकारीले बताउनु भयो । यस्तै २५५ देखि ६० रुपैयाँमा बिक्री भइरहेको भटमासको तेलको मूल्य २२० रुपियाँमा झरेको छ ।

यस अवधिमा भटमासको तेल लिटरमा ४० रुपियाँ सस्तो भएको अधिकारीले बताउनु भयो । भटमास र सूर्यमुखी तेलको मूल्य घटेपनि तोरीको तेलको भाउमा भने कुनै परिवर्तन नआएको संघले जनाएको छ । तोरीको तेलको भाउ प्रतिलिटर तीन सय रुपियाँ हाराहारी छ ।

तेलको भाउ घटेको विषय जानकारीमा आएको वाणिज्य विभागले जनाएको छ । बजारमा २० देखि ४० रुपियाँसम्म मूल्य घटेको संघले जनाएको छ । 

Comments

KATHMANDU WEATHER