Byroad News

Loading...

राजस्व संकलनका लागि भोलि शनिबार पनि बैंक खुल्ने


राजस्व संकलनका लागि भोलि शनिबार पनि बैंक खुल्ने

काठमाडौं/२५ असार
राजश्व संकलन गर्ने बैंकका शाखा तथा काउन्टरहरु भोलि शनिबार पनि खुला नै रहने भएका छन् । चालु आर्थिक वर्षको अन्तिम शनिबार भएका कारण बैंकहरुले राजश्व संकलनका लागि समस्या नहोस् भनेर सेवा सुचारु राख्ने भएका हुन् ।

त्रैमासको अन्तिम दिन सार्वजनिक बिदा वा २५ गते पछाडि शनिबार परे शाखा कार्यालयहरु खुल्ला राख्न नेपाल राष्ट्र बैंकले सूचना निकालेर बैंकहरुलाई निर्देशन दिने गरेको थियो । शुक्रबार भने राष्ट्र बैंकले सूचना निकालेको छैन ।

यद्यपि चौथो त्रैमासको अन्तिम शनिबार भएका कारण बैंकले शाखा तथा काउन्टरहरु खोलेर सेवा दिन सक्ने राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताउनु भयो । ‘त्रैमासको २५ गते पछाडि शनिबार परे पनि खोल्नु भनेर हामीले स्टाण्डिङ निर्देशन दिएका छौं, यसकारण हामीले आज निर्देशन नदिए पनि आवश्यकताका आधारमा बैंकले शाखा कार्यालयहरु खुला नै राख्नेछन्,’ प्रवक्ता ढकालले बताउनु भयो ।

बैंकर्स संघका अध्यक्ष भुवन दाहालले पनि शाखा कार्यालयहरुले चेक क्लियरेन्स समेतका केही सेवाका लागि शनिबार बैंक खुला हुने बताउनु भएको छ ।

Comments

KATHMANDU WEATHER