Byroad News

Loading...

थाहामा कोरोना: खतराको घण्टी बज्दै


थाहामा कोरोना: खतराको घण्टी बज्दै

थाहानगर/२३ असार
थाहानगरमा झट्ट हेर्दा अचेल कोरोना सामान्य बनिसकेको छ । वर्षाका कारण राजधानी छिर्ने नाकाहरु बन्द हुँदा त्रिभुवन राजपथ प्राय: व्यस्त बनेको छ ।

सवारीसाधनको चापका कारण कहि कहि जाम नै हुने गरेको छ । यो त त्रिभुवन राजपथको नियमित समस्या नै हो तर, यतिबेला कोरोना संक्रमणको जोखिमसङ्ग जोडिएको छ ।

दोस्रो भेरियन्टको सुरुमा बैशाख १२ गते पहिलो परिक्षण गरिएको थियो । जुन परिक्षणबाट ६ जनामा कोरोना पुष्टि भएको थियो । त्यतिबेला पनि सिस्नेरी-भीमफेदी-हेटौंडाको सडक मर्मतको कारण सो बाटो बन्द हुँदा यहि राजपथमा यातायातको चाप थियो । जतिबेला भारत र भारतसङ्ग सीमा जोडिएका रौतहट, वीरगञ्ज जस्ता सहरहरुमा कोरोनाको लहर सल्किसकेको थियो ।

अहिले थाहामा तुलनात्मक रुपमा कोरोना न्यूनिकरण हुँदै गएको थियो तर फेरि असार दोस्रो हप्तादेखि संक्रमित दर बढ्दै गएको छ । होटलहरुमा होम डेलिभरी तथा टेक-अवेका लागि दिउसो १२ बजेदेखि ४ बजेसम्म मात्र खोल्ने भनिएको भएपनि कार्यान्वयनको पक्ष फितलो छ । केही ठाउँमा आधा रातसम्म होटलहरु खुल्ला छन् । दिउँसो पनि सुरक्षा सावधानी अपनाइएको पाइएको छैन । जसका कारण अझै खतराको संकेत बढ्दै गएको छ ।

आज (बुधबार) २९ जनामा कोरोना परिक्षण गरिएकोमा १८ जना अर्थात ६२ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । पछिल्लो साताको तथ्यांक हेर्दा न्यूनतम ३५.२९ प्रतिशत र अधिकतम ७५ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । जुन विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार स्वास्थ्य संकटकालका लागि पर्याप्त आधार हो तर, थाहानगरमा अझ जनजीवनलाई सामान्य बनाउन जारी निषेधाज्ञा खुकुलो छ । यद्यपि सामान्य स्वास्थ्य मापदण्ड समेत पालना नगर्नाले निकट भविष्य मै थप संकट व्यहोर्नु नपर्ला भनेर ढुक्क हुने ठाउँ छैन ।

अब क्रमिक रुपले सबै क्षेत्रहरु खुल्ला गर्दै जानु पर्ने सवालहरु उठ्दै गर्दा पछिल्लो साताको तथ्यांकलाई हेरौं ।
असार २३ गते बुधबार २९ मा १८ अर्थात ६२ प्रतिशत
असार २२ गते मङ्गलबार २० मा ९ अर्थात ४५ प्रतिशत
असार २१ गते सोमबार १३ मा ५ अर्थात ३८.४६ प्रतिशत
असार २० गते आइतबार १७ मा ६ अर्थात ३५.२९ प्रतिशत
असार १९ गते शनिबार ४ मा ३ अर्थात ७५ प्रतिशत
असार १८ गते शुक्रबार १० मा ५ अर्थात ५० प्रतिशत
असार १७ गते बिहीबार ४ मा ३ अर्थात ७५ प्रतिशत

यो तथ्यांकले के देखाइरहेको छभने नगरमा स्वास्थ्य सावधानीमा चरम लापरबाही छ । रोग लुकाएर लुकाउनै नसकेका विरामीहरु मात्र परिक्षणका लागि स्वास्थ्य केन्द्र पुगिरहेका छन् । लक्षण भएकाहरुले पनि रोग लुकाएर सामान्य जीवनयापन गरिरहेका छन् ।

स्वास्थ्य शाखाका अनुसार हाल परिक्षणका लागि पर्याप्त अर्थात अझै २ हजार थान एन्टीजेन कीट उपलब्ध छ । तर, स्वैच्छिक परिक्षणमा आइरहेका छैनन् । लामो समय बजार बन्द हुनुले आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव पर्न थालिएको भन्दै बजार मनपरी खुल्ला हुनुले यो तथ्यांक घट्दो दरमा नझर्ने अनुमान लगाउन सकिन्छ ।

Comments

KATHMANDU WEATHER