Byroad News

Loading...

थाहामा बाढीपहिरोको अवस्था: ८ नम्बरमा ५० घर परिवार जोखिममा, सबै सडक सञ्जाल अवरुद्ध


थाहामा बाढीपहिरोको अवस्था: ८ नम्बरमा ५० घर परिवार जोखिममा, सबै सडक सञ्जाल अवरुद्ध

सुरेन्द्रमान प्रधान/१९ असार
अस्तिदेखिको अविरल वर्षाले थाहा नगरपालिकाका सबै वडाहरुलाई ठूलो क्षति पुर्याएको छ । हालसम्म मानवीय क्षति नभएको भएपनि प्राय: सबै वडाहरुका भित्री सडकहरु पहिरोले क्षति पुर्याएको छ । 

वडा नम्बर १ को गहतेमा वसन्त गोपाली, पुर्ण गोपाली, सुमन वाइवालगायतको घर पछाडि पहिरोले पुरेर छोएको छ । अहिले पहिरो पञ्छाउन जेसीवी नपाएर घरधनी आत्तिएका छन् । वडाध्यक्ष हेरमान गोपालीका अनुसार १ नम्बर वडाका प्राय: भित्री सडकहरुमा साना पहिरोहरुले अवरोध पुर्याएको छ ।

वडा नम्बर २ को भित्री सडकको इन्द्रायणी वस्ती र त्रिवेणी खोलाले मूलसडकसङ्ग सम्पर्क विच्छेद भएको छ । गैरीगाउमा श्याम बलामीको घर जोखिममा रहेको वडाध्यक्ष गुप्त कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार फेदिगाउमा दिपक तमाङको घर पनि जोखिममा छ । प्राय: भित्री सडकहरु पहिरोले कटान गरिएको छ ।

वडा नम्बर ३ को दोवाटो-डाडाबास सडक खण्डको भुङ्दलमा फेरि सडक कटानमा परेको छ । भित्री सडकहरु प्राय: पहिरोको जोखिममा परेको छ । तरकारी खेती नष्ट भएको छ । मौसमले साथ दिएमा आजै भुङ्दल सडक खण्ड सुचारु गर्ने तयारी गरिएको छ ।

वडा नम्बर ४ मा प्राय: सबै भित्री सडकहरु पहिरोले अवरुद्ध भएको छ । त्यहाँपनि मानवीय क्षति भने भएको छैन ।

वडा नम्बर ५ मा पनि सडक माथिबाट झरेको पहिरोले सबै सडकहरु अवरुद्ध भएको वडाध्यक्ष विष्णु बहादुर गुरुङले जानकारी दिनुभयो । वडाको खोलाखर्क-डाडाखर्क सडक, किटेनी-चौकी-रुप्से-फुर्के सडक, दामन-मयल भञ्ज्याङ सडक पहिरोका कारण अवरुद्ध भएको छ । अवरुद्ध सडकहरु तत्काल सुचारु हुने अवस्था नदेख्दा बारीमा उत्पादन हुने लाखौंको तरकारी बाली नष्ट हुने देखिएको छ । 
घर गोठ लडेको छैन, बिद्युत आपूर्ती छ, वसन्त प्रावी जोखिममा, दुर्गा प्रावी तसरको एक तला पुरिएको छ, 

६ नम्बर वडाका सबै सहायक बाटो प्राय: अवरुद्ध नै छ । कुन्छाल-कुलेखानी सडकको बाराही चौर नजिक नालीले सडक कटान गर्दा यातायात अवरुद्ध हुने अवस्था छ । उता १० नम्बर वडामा पर्ने अम्बुडोलमा पहिरोले सो सडकमा यातायात अवागमन अवरुद्व भएको छ ।

वडा नम्बर ७ प्रवेश गर्ने चिसापानी-डाडाबास सडक अवरुद्ध छ । पालुङ-चल्ती सडकका विभिन्न भागमा आएको पहिरोले सो खण्ड पनि अवरुद्ध छ । त्यहाँ मानवीय क्षति नभएको भएपनि तल्लो वस्तिका केही घर छोडेर गएराती नै अन्यत्र सरेका थिए ।

वडा नम्बर ८ को छापमा ५० घरधूरी जोखिममा छ । गएराति ७ धूरी घर भत्किसकेको वडाध्यक्ष टिकाराम रुम्बाले जानकारी दिनुभयो । जोखिममा रहेका करिव ५ सय जना अहिले महाङ्काल प्राविको भवनमा शरण लिएका छन् । त्यहाँ केही दिनदेखि विद्युत समेत अवरुद्ध हुँदा दामगाडे र चिसापानीको टावर समेत चार्ज हुन सकेको छैन । टेलिफोन टावर चार्ज नहुदा सञ्चार सम्पर्क समेत विच्छेद भएको रुम्बाले बताउनु भयो ।

वडा नम्बर ९ मा पनि हिजोको पानीले स्थानीय मार्गहरुमा पहिरो झरेको छ । त्यहाँ पनि तरकारी बाली नष्ट भएको छ । थप क्षतिको विवरण आउन बाकी छ ।
वडा नम्बर १० मा अहिलेसम्म क्षतिको विवरण एकिन नभएको वडाध्यक्ष हिराबहादुर गमालले जानकारी दिनुभयो । सहायक मार्ग सबै बन्द छ । तरकारी बाली नष्ट भएको छ ।

वडा नम्बर ११ मा पनि भित्री सडक सबै प्राय: अवरुद्ध नै छ । जनजीवन प्रभावित भएको छ । थप विवरण आएको छैन । मुख्य राजमार्गको देउराली सडक खण्ड राती नै प्रहरीले खोलेपछी अहिले त्रिभुवन राजपथमा यातायात सुचारु भएको छ ।

वडा नम्बर १२ का भित्री सडकहरुमा ठाउँठाँउमा पहिरो गएको छ । घर गोठमा क्षति भएको विवरण प्राप्त नभएपनि जनजीवन प्रभावित भएको वडाध्यक्ष मानबहादुर स्याङ्तानले जानकारी दिनुभयो । 

मेयर लवशेर विष्टले अहिले १ बजे विपद व्यवस्थापन समितिको बैठक राखेर सम्भावित जोखिम न्यूनिकरणका उपायहरु खोजी गर्ने र क्षतिको विवरण संकलन गर्ने तयारी गरिएको बताउनु भयो ।                                       इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाका अनुसार त्रिभुवन राजपथका सबै क्षेत्र खुल्ला छ । बाढी पहिरोले अहिलेसम्म मानवीय क्षति भएको छैन ।

Comments

KATHMANDU WEATHER