काठमाडौं/१७ असार
बिहीवारदेखि सार्वजनिक निष्कासनमा आएको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा पहिलो दिनमै मागभन्दा २१ दशमलव ९३ गुणा बढी आवेदन परेको छ ।
कम्पनीले ३ लाख ६३ हजार ४९२ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । सर्वसाधारणमा विक्री गर्न लागेको कुल ३ करोड ८९ लाख रुपियाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओमध्ये शून्य दशमलव ५ प्रतिशत दरको ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको १९ हजार ४५० कित्ता सामुहिक लगानीकोषको लागि सुरक्षित गरी बाँकी सार्वजनिक निष्कासनमा ल्याएको हो ।
सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार बिहीबार साँझ ५ बजेसम्म सार्वजनिक निष्कासनमा आएको ३ लाख ६३ हजार ४९२ कित्ता शेयरका लागि ५ लाख ८९ हजार ८१२ जना आवेदकहरुबाट ७९ लाख ७२ हजार ८२० कित्ताका लागि आवेदन परेको हो । यो आईपीओ छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गतेसम्म विक्री खुलाको मिति तय गरिएको भएपनि मागभन्दा बढी आवेदन पहिलो दिनमै परिसकेकाले छिटो अवधिभित्रै विक्री बन्द हुनेछ ।
यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्रा एनपी आईआर डबल बि माइनस रेटिङ्ग प्रदान गरेको छ ।
यो आईपीओ विक्रीका लागि कम्पनीले असार ६ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
हाल कम्पनीको चुक्तापूँजी ८ करोड २२ लाख ५० हजार रुपियाँ रहेको छ । संस्थापकतर्फ ६७ दशमलव ८९ प्रतिशत चुक्तापूँजी कायम रहेको कम्पनीले सर्वसाधारणमा ३२ दशमलव ११ प्रतिशत आईपीओ विक्री गर्न लागेको हो । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी १२ करोड ११ लाख ५० हजाररुपियाँ कायम हुनेछ ।
गत आर्थिक वर्ष ०७६/०७७ सम्ममा २ करोड ९६ लाख ७६ हजाररुपियाँ खुद नाफा गरेको कम्पनीको प्रतिशेयर आम्दानी ६ दशमलव ८५ रुपियाँ र प्रतिशेयर नेटवर्थ ११० दशमलव ८४ रुपियाँ रहेको छ । वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता ११० दशमलव ८४ रुपियाँदेखि ३३२ दशमलव ५२ रुपियाँसम्मको मूल्य रेञ्ज पाउने देखिएको आर्थिक न्युजले समाचार लेखेको छ ।
-
2 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
4 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments