Byroad News

Loading...

थुनिएको पानी चीनले तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो


थुनिएको पानी चीनले तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

दोखला/६ असार
चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

दोलखाका डिएसपी भेषराज रिजालले तामाकोशीमा पानीको बहाव बढे पनि जोखिम नरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हिजो-अस्तिको भन्दा थ्रेट कम भएको छ ।’ अनलाइन खबरले समाचार लेखेको छ ।

अनलाइन खबर अगाडि लेख्छ, चीनको टिंग्री काउन्टीको रोङछिया शहर र आसपासका क्षेत्रमा भारी वर्षासँगै पहिरो आउँदा नदीको प्रवाह रोकिएको जानकारी चिनियाँ पक्षले गराएको थियो । अहिले चिनियाँ पक्षले नै नदीको बहाव कन्ट्रोलमा रहेको जानकारी दिएकाले तत्कालको जोखिम टरेको विगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले बताउनु भयो ।

दोलखाको बिगु गाउँपालिका-१ लप्चीको सिमानामा थुनिएको नदीमा बाढी आउन सक्ने र यसले क्षति पुर्याउन सक्ने आशंका थियो । डीएसपी रिजालका अनुसार तामाकोशी ड्यामको अहिले चारवटा ढोका खोलिएको छ । तामाकोशीमा बिहान साढे ५ बजे गरिएको मापनमा जलसतह १९७९.८ रेकर्ड गरिएको र पानी डिस्चार्ज २६० घनमिटर प्रतिसेकेण्ड रहेको डिएसपी रिजालले बताउनु भयो ।

‘तामाकोशीमा लेदोसहितको बाढी आएको छ, बहाव बढेसँगै डिस्चार्ज लेभल पनि बिस्तारै बढाउँदै गएका छौं,’ डीएसपी रिजालले भन्नुभयो, ‘सम्भावित जोखिमको सामना गर्न आवश्यक पूर्वतयारी गरेका छौं ।’

शनिबार नै विपद व्यवस्थापन समितिको आकस्मिक बैठक बसेर सम्भावित जोखिम विश्लेषण गरी दोलखाका जोखिम क्षेत्रका बासिन्दालाई राख्न सिंगटीमा तीनवटा टेन्ट बनाइएको थियो ।

जोखिम व्यवस्थापनको पूर्वतयारी स्वरुप माथिल्लो तामाकोशीको जलाशयको सतह नौ मिटर घटाइएको थियो भने बालुवा थिग्रार्ने पोखरी पुरै खाली गराइएको थियो ।

जिल्ला प्रशासन कार्यालयले गएराति ९ः५५ बजे जरुरी सूचना जारी गर्दै दोलखा र आसपासका जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो । तामाकोशीमा बाढी आएमा दुई देशको सिमानामा रहेका बस्तीसहित दोलखाको लामाबगर, गोंगर, सिंगटी, तामाकोशी, सितली, किर्नेटार तथा रामेछापको मन्थली र सिन्धुलीको खुर्कोट बजारसम्म क्षति हुन सक्ने अनुमान छ।

Comments

KATHMANDU WEATHER