Byroad News

Loading...

मेलम्ची बाढीपीडितका नाममा चन्दा उठाए एक लाख जरिवाना र दुई वर्षसम्म कैद !


मेलम्ची बाढीपीडितका नाममा चन्दा उठाए एक लाख जरिवाना र दुई वर्षसम्म कैद !

काठमाडौं/५ असार
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले विपद्का नाममा चन्दा संकलन, राहत वा सहयोग संकलन नगर्न आग्रह गरेको छ । सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा बाढी पहिरोको कारण ठूलो धनजनको क्षति भएपछि विभिन्न ठाउँमा राहत संकलनको कार्य भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले एक प्रेस विज्ञप्ति जारी गर्दै विपद्का नाममा चन्दा, राहत वा सहयोग संकलन कार्य भइरहेको पाइएको भन्दै त्यसो नगर्न चेतावनी दिएको हो ।

अनुमति लिई वा नलिई विपद्का नाममा चन्दा, राहत वा सहयोग संकलन गर्ने कार्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २४(१)(ख) अनुसार कसूर हुने भन्दै त्यस्तो कार्य नगर्न र गरिएको पाए जानकारी दिन पनि प्रशासनले आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जारी गर्नु भएको विज्ञप्तिमा भनिएको छ, ‘त्यस्तो कार्य गर्नेलाई कसूरको मात्रा हेरी एक लाख रुपियाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था भएकाले यस्ता गलत क्रियाकलाप नगर्न नगराउन, भए गरेको पाइए जानकारी वा सूचना नजिकैको प्रहरी कार्यालय वा मोवाइल नम्बर ९८४१३९२८८३ मा जानकारी गराइदिन सर्वसाधारण सबैसँग अनुरोध छ ।’

Comments

KATHMANDU WEATHER