Byroad News

Loading...

कोरोनाबाट एमाले नेता नापितको निधन


कोरोनाबाट एमाले नेता नापितको निधन

थाहानगर/३ असार
नेकपा एमालेका नेता राजु नापितको कोरोना संक्रमणका कारण आज (बिहीबार) निधन भएको छ ।

थाहा नगरपालिका २ पालुङ घर भएका नापितको उपचारको क्रममा काठमाडौंस्थित वीर अस्तपालमा आज दिउँसो सवा १२ बजेतिर निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

नापितको धेरै वर्ष अगाडि मुटुको शल्यक्रिया गरिएको थियो । करिव २ साता अघि कोरोना संक्रमण देखिएपछि घरमै आइसोलेसनमा बस्नु भएको थियो । आइसोलेसनमा बस्दै गर्दा स्वासप्रस्वासमा समस्या आएपछि २७ जेठमा काठमाडौं लगिएको थियो । अस्पतालमा उपचारको क्रममा सामान्य अवस्थामा रहनु भएका नापितलाई आज (बिहीबार) विहान अस्पतालमा बिद्युत आपूर्तिका कारण अक्सिजन सप्लाई करिव १५ मिनेट बन्द भएको मृतकका छोरा रबिन्द्र नापितले बाइरोडलाई जानकारी दिनुभयो ।

१५ मिनेटसम्म अक्सिजन सप्लाईमा समस्या भएपछि नापितको अक्सिजन सपोर्टमा लेभल ७०-७५ मा झरेको थियो । अक्सिजन लेभल घटेर स्वास्थ्यमा समस्या भएपछि आइसियुमा सार्नु पर्ने डाक्टरले बताउनु भएको बाइरोडसङ्गको कुराकानीमा छोरा रबिन्द्रले बताउनु भयो । आइसियुको व्यवस्था मिलाउन नपाउदै नापितको निधन भएको छोरा रबिन्द्रले जानकारी दिनु भयो ।

२०३६ सालदेखि कम्युनिस्ट राजनीतिमा प्रवेश गर्नु भएका नापित हाल नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा थाहानगर इन्चार्जको जिम्मेवारीमा हुनुहुन्थ्यो । उहाँ हाल पालुङ बहुमुखी क्याम्पस संचालक समितिका सदस्य समेत हुनुहुन्छ । यसैबीच, नेकपा एमाले थाहा नगर कमिटीले एक विज्ञप्ति जारी गरि एमाले नेता नापितको निधनले मकवानपुरको कम्युनिष्ट आन्दोलनमा अपुरणीय क्षति भएको उल्लेख गरेको छ । 

नेता नापितले आफ्नो जीवनकाल भर जनताको समृद्धिका लागि गर्नु भएको आन्दोलन प्रति सम्मान गर्दै आगामी दिनमा पनि नापितले देख्नु भएको सपना साकार पार्न पार्टीले निरन्तरता दिने जनाएको छ । उहाँको पार्थिव शरीर नेपाली सेनाको व्यवस्थापनमा पशुपति आर्यघाटमा लगि बिद्युतीय शवदाह गृहमा दाहसंस्कार गरिदै छ । नेकपा एमालेका केन्द्रीय सदस्य महेश बर्तौलाका अनुसार पशुपति आर्यघाटमा नापितको पार्थिव शरीरमा एमालेका केन्द्रीय सदस्य कृष्ण दाहालले पार्टीको झन्डा ओढाउनु भएको थियो । शोक सभामा एमालेका केन्द्रीय तथा जिल्ला नेताहरुले श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।

मृतक नापितका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ ।

Comments

KATHMANDU WEATHER