Byroad News

Loading...

वैद्यले प्रदेश सभामा भने: ‘आवेशमा आएर बोलेँ, आत्मालोचित छु’


वैद्यले प्रदेश सभामा भने: ‘आवेशमा आएर बोलेँ, आत्मालोचित छु’

हेटौंडा/२९ जेठ
बागमती प्रदेश सभामा काँग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध शुक्रबार दिनु भएको विवादास्पद अभिव्यक्ति फिर्ता लिनु भएको छ । आज (शनिबार) प्रदेश सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय मागेर उहाँले भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचना सहित सो अभिव्यक्ति फिर्ता लिलु भएको हो । 

शुक्रबारको बैठकमा उहाँले प्रधानमन्त्रीको मनोमानी रोक्न नाथुराम गोड्सेको आवश्यकता रहेको र आवश्यकता परे आफू गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिनु भएको थियो । उहाँको सो अभिव्यक्तिको चौतर्फी विरोध भएको थियो भने उहाँकै पार्टी काँग्रेसले समेत अभिव्यक्ति फिर्ता लिन निर्देशन दिएको थियो ।

शनिबारको बैठकमा वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुनै रिसइवी नभएको भन्दै आफू हत्याहिंशामा विश्वास नगर्ने र गान्धीवादी नेता भए पनि आवेशमा यस्तो अभिव्यक्ति दिएको भन्दै त्यो अभिव्यक्ति फिर्ता लिएको बताउनु भएको हो । उहाँले अभिव्यक्ति दिएपछि आफूले पनि संसदीय मर्यादा बाहिर गएर बोलेको महसुस गरेको बताउनु भयो । 

उहाँले आत्मालोचनासहित अभिव्यक्ति फिर्ता लिँदै सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन अनुरोध गरेपछि सभामुखले सो अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिनुभयो । 

Comments

KATHMANDU WEATHER