‘टिष्टुङ्ग पालुङ गाउँ ऋषेश्वर थानैमा माया प्रिति लाउँ’ यो धेरै वर्ष अगाडि रचिएका शब्दहरु हुन् । अझै पनि भर्खरका बच्चादेखि वृद्धसम्म पनि कुनै रमाइलो गर्नु पर्दा यो गीतका भाका घन्किने गर्छ । मकवानपुरको थाहा ६ बज्रबाराहीमा जन्मिनु भई नेपाल ललितकला क्याम्पसमा संगीत पढेका मुक्तिनाथ उप्रेती लोकदोहोरी र लोकभाकामा चलेको नाम हो । देशमा हुने विभिन्न मेला महोत्सवहरुमा प्रस्तुति दिदै आइरहनु भएका, चर्चित गायिका मेलिना राईसंग एउटा आधुनिक गीत र चलचित्रमा समेत गीत गाइसकेको र रिलिज हुन बाँकी रहेको, चर्चित गायिका कोमल वलीसंग पनि ३ वटा दोहोरी गीत रेकर्ड गराइ सक्नु भएका । उहाँलाई गायक मात्रको परिचयले पुग्दैन, उहाँ अहिले युवाहरुका लागि प्रेरणा पनि बन्नु भएको छ । परि आए रातभर पनि कृषि पेसामा व्यस्त रहन सक्ने उप्रेती थाहा नगरमै अगुवा युवा कृषकको उपाधिले सम्मान गर्दा अरु कसैलाई अन्याय नहोला पनि । आफ्नो निजी जग्गा बाहेक थप २५ रोपनी जग्गा भाडामा लिएर बेमौसमी तरकारी खेती समेत गर्दै आउनु भएका मुक्तिनाथ उप्रेतीसंग आजको अङ्कमा बाइरोड सम्पादक सुरेन्द्रमान प्रधानले गर्नु भएको कुराकानी जस्ताको तस्तै:

- कृषि र संगीत बिल्कुलै फरक पाटो हो, तर तपाईले यो दुबै विषयलाई कसरी सम्हालिरहनु भएको छ ?
यी दुबै फरक विषय भए पनि मेरो लागि दुवै उत्तिकै प्रिय लाग्ने क्षेत्र हुन्। बढी समय कृषि मै व्यस्त रहे पनि समय मिलाएर संगीतमा पनि लागि रहेको छु। कृषिबाट बचेको समय गीत रचना, संगीत गर्ने, साधना गर्ने, समय मिलाएर रेकर्डिङमा जाने गरेको छु। समय भन्ने कुरा जहाँ इच्छा त्यहाँ उपाय भने झैँ मिलाउन सकिने रहेछ । खेतिको ब्यवस्था मिलाएर मेला महोत्सवमा पनि जाने गरेको छु ।
- तपाई आफ्नो परिचय गायक भन्न रुचाउनु हुन्छ कि एउटा मिहिनेती कृषक ?
संगीत र कृषि मेरो लागि दुई आँखाका नानी समान हुन् । दुबै बराबर लाग्छ। दुवैको महत्व आ—आफ्नो ठाँउमा उत्तिकै छ र पनि अलि बढी आफुलाई किसान भन्न रुचाउँछु।
- गाउँमै बसेर संगीतलाई अगाडि बढाउन सम्भावना छ ?
गाउँमा नै रहेर पनि केही सांगीतिक ज्ञान हाँसिल गरेकोले संगीत साधना गर्न सकिन्छ। समय मिलाएर गीत रचना, गीतमा संगीत भर्ने समय मिलाएर रेकर्डिङमा जाने, मेला महोत्सवमा पनि खेतीमाव्यवस्था मिलाएर जाने गरेको छु । खासै असम्भव भन्ने हुँदैन।
- गीत संगीतबाट त कमाइ गर्न सक्नु भएन होला नै, बरु यत्ति धेरै पसिना बगाएर कृषिकर्मबाट कमाउनु भएको रकम गीत संगीतमा किन खर्चिरहनु भएको छ ?
बिगतमा अडियो बिक्रीबाट केही आम्दानी भएको थियो। बिचमा गीत संगीतमा केही समय पर रहे जस्तै भयो पछिल्लो केही बर्षयता मेला महोत्सवबाट केही आम्दानी हुने गरेको छ र पनि त्यो पर्याप्त भने छैन र पनि निराश हुने अवस्था पनि छैन। कृषिको पैसा संगीतमा लगानी गर्दा केही नामसंगै केही आम्दानी पनि हुने अवस्था छ। म यसमा खुशी छु।

- साङ्गीतिक यात्राको शुभकामना पनि छ, अब कुरा गरौं कृषि कर्म कै । तपाईं उच्च शिक्षा पढ्न काठमाडौं रोज्नु भएको व्यक्ति, रेडियोलगाएत संचार क्षेत्रतिर पनि केही समय बिताउनु भयो तर लगभग पुरै समय कृषि मै बिताउँछु भन्ने सोच र योजना कसरी आयो ?
संगीतको बारेमा पढ्न र सिक्न केही बर्ष बिताएँ केही ज्ञान आर्जन पनि गरियो। केही बर्ष रेडियो संचार क्षेत्रमा बिताइयो । त्यो समय पनि केही अर्थ पुर्ण रह्यो। ब्यर्थ भने रहेन अझै पनि त्यसको महत्व घटेको भने छैन र पनि पछिल्लो समय खेती मै लाग्ने निर्णय लिएको छु। आफ्नै परिवार समाज मै रहेर घरको तातो खाना खाएर आफ्नै श्रम र पसिना बगाएर, आफै हाकिम, आफै कामदार अनि कतै जानु परे आफ्नै खुशी र मर्जीमा जान पाइने। दु:खी, गरिबदेखि महलमा बस्ने, प्रधानमन्त्रीदेखि राष्ट्रपती समेतलाई पाल्ने, खाने कुराको उत्पादन गर्ने आखिर किसान नै हो। यो गर्वको विषय पनि हो। अनि आफू रोजगार बनी अरुलाई पनि रोजगारी दिने अनि राम्रो आम्दानी लिन सकिने हुनाले कृषिमा लागियो।
- नढाटी भन्नुस न वार्षिक खर्च कटाएर कति जति आम्दानी गर्नु हुन्छ यो कृषिकर्मबाट ?
बिगत २ बर्ष यता कृषिलाई व्यवसायिक रुपमा गर्न थालेपछि सबै खर्च कटाएर ७ देखि १० लाखसम्म बचत भैरहेको छ।
- सरकारले कृषि क्षेत्रमा असाध्यै ठूलो रकम खर्चिने गरेको छ, तपाईं जत्तिको कृषकको हातमा पनि परेको छ ?
सरकारले कृषिमा छुट्याएको अनुदान मैले धेरथोर लिइ रहेको छु।
- यो अनुदान पाउन कति दु:ख गर्नु पर्यो ? अनि कसले सघाइ रहेको छ ?
मेरो मन्जिल नमुना कृषि फर्म दर्ता भैसकेको छ । म प्रक्रियामा गएर धेरथोर अनुदान लिइरहेको छु।
- स्थानीय सरकार वा कृषि विकास कार्यालयबाट कस्तो अपेक्षा गर्नुहुन्छ ?
स्थानीय सरकार र प्रतिनिधिसामु मेरो अनुरोध समय मै रासायनिक मलको उचित ब्यवस्थापन हुनु पर्यो। बेलाबेलामा हुने रासायनिक मल अभाव सदाको निम्ति अन्त्य होस् । किसानले उत्पादन गरेको तरकारीको उचित मूल्य निर्धारण गरि बिचौलियाबाट हुने शोषणको अन्त्य गरियोस् ।
- कसले के गरिदियो भने कृषकको आयस्तर वा जीवन शैलीमा उन्नती हुन्छ होला ?
सर्व प्रथम त किसानलाई खेतीमा लाग्न उत्साहित गर्ने कृषि ज्ञान एवं तालिमको आवश्यकता छ। कृषिमा लाग्न सहज बनाउन रासायनिक मल वीउबवजन बेलामा र अनुदानमा दिने माहोल बन्न जरुरी छ । किसानलाई जतिसक्दो कम ब्याजदरमा ऋण दिने ब्यवस्था हुन जरुरी छ। उत्पादित तरकारी उचित मुल्य निर्धारण, प्राकृतिक प्रकोपबाट हुने क्षतिमा उचित क्षतिपूर्तिको व्यवस्था गर्न सकेको किसानको आत्मबल बढ्ने केही गर्ने उत्साह बढ्ने छ । साथै कृषि बाली बिमाको अति आवश्यकता देखिन्छ ।
- बेरोजगारी भएँ भनेर गुनासो गर्ने र स्वदेशमा काम नभएर विदेश जाने युवाहरुलाई के सन्देश दिन चाहनु हुन्छ ?
बिदेश जानु सीमित व्यक्तिको रहर होला तर अधिकांशको बाध्यता हो। तर यसो भन्दैमा बिदेशमा मात्रै पैसा टिप्ने रुख पाईन्छ भन्ने पनि होइल। बिदेश जान नपर्ने व्यवस्था माहोल सरकारले नै बनाउन जरुरी छ। देशका युवालाई जागरुक गराउने खेती योग्य तर बाँझो रहेको जमिन खनजोत गर्ने माहोल बनाउने, युवाहरुलाई कृषि सम्बन्धि तालिम दिने, सस्तो ब्याजदरमा ऋण दिने, उत्पादित सामाग्रीको उचित बजार मूल्य निर्धारण गर्ने, प्राकृतिक प्रकोपबाट क्षति हुँदा सरकारले उचित क्षतिपुर्ति दिने लगायतका कामहरु गर्न सके बिदेश जाने बाध्यताको अन्त्य हुँदै जानेछ।
- मेयर साब र वडाका प्रतिनिधि ज्युहरुलाई समग्र कृषकहरुको तर्फबाट के गुनासो गर्नु हुन्छ ?
आगामी दिनहरुमा उहाँहरुले असली कृषक को हो, अनुदान र सस्तो ब्याजमा ऋण लिने उद्देश्यले मात्र किसान हुँ भन्ने गलत प्रवृत्ति भएकाहरुलाई चिनेर कार्बाही गर्न जरुरी छ। अनुदान भनेको टाठाबाठा र राजनीतिक पहुँच भएकाहरुले मात्र पाउने प्रवृत्तिको अन्त्य हुन जरुरी छ र गएको बैशाख ३ गते र बैशाख १६ गतेको असिनाले क्षति पुगेका किसानहरुलाई केही राहत महसुस हुने कार्य गर्न अनुरोध गर्दछु। हावाहुरीले क्षति पुगेको टनेलमा खेती गरेका किसानहरुको माग सम्बोधन गर्ने प्रयास गरिनु राम्रो हो। अरु किसानको क्षतिको पनि सम्बोधन होस भन्न चाहन्छु ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments