Byroad News

Loading...

कोरोना संक्रमितको समस्या समाधान गर्न जिल्ला युवा समिति मकवानपुरले समन्वय र सहजीकरण गर्ने


कोरोना संक्रमितको समस्या समाधान गर्न जिल्ला युवा समिति मकवानपुरले समन्वय र सहजीकरण गर्ने

हेटौंडा/२१ जेठ 
कोरोना संक्रमितहरुको समस्या समाधान गर्न जिल्ला युवा समिति मकवानपुरले समन्वय र सहजीकरण गर्ने भएको छ । समितिले बालबालिका, युवा, गर्भवती महिला, शारीरिक अपांगता भएका र जेष्ठ नागरिकको समस्यालाई समाधानका  गर्न आफ्ना कार्यक्रम संचालन गरिनेछ ।

मकवानपुर जिल्लामा कोभिड–१९ को प्रकोप न्युनिकरण, नियन्त्रण, उपचार र अत्यावश्यक सामग्रीको उपलब्धताका बारेमा सेवा लिने दिने र विभिन्न निकायगत समन्वयका लागि तत्काल सम्पर्क गरि आवश्यक पहल गर्न जिल्ला युवा समितिद्वारा गठित कोरोना महामारी सुचना तथा सहजीकरण केन्द्रको शुक्रबार बसेको भर्चुअल बैठकले उच्च जोखिममा रहेको कोरोना संक्रमितहरुको समस्याको समाधान गर्नको लागि आवश्यक समन्वय र सहजीकरण गर्ने भएको हो ।

विभिन्न कारणले होम आइसोलेसनमा बस्न अप्ठ्यारो भएका कोरोना संक्रमितलाई गौरिटार आइसोलेसनमा पुर्याउन र संक्रमितका समस्याहरुको समाधानको लागि सम्बन्धित कार्यालयको ध्यानाकर्षण गर्ने जिल्ला युवा समिती मकवानपुरका अध्यक्ष शिबहरि दाहालले बताउनुभयो ।

बैठकमा जिल्ला समन्वय समितिको प्रमुख रघुनाथ खुलालले जिल्लामा कोरोना संक्रमित बिरामीको चाप कम भएको देखिएता पनि अबस्था अझै जटिल रहेको बताउनुभयो । उहाँले कोरोनाको लक्षण देखिनै बित्तिकै परीक्षण गर्न र होम आइसोलनमा बसेका उच्च जोखिम रहेका कोरोना संक्रमितहरुलाई अस्पतालमा भर्ना हुनको लागि सहजीकरण गर्न जिल्ला युवा समितिलाई आग्रह गर्नुभयो । उहाँले ग्रामिण क्षेत्रमा संक्रमणको दरमा उच्च वृद्धि भैरहेकोले स्थितिलाइ भयावह हुन नदिन सबै सचेत र सुरक्षित हुन आग्रह गर्नुभयो ।

गैसस महासंघ मकवानपुरकी उपाध्यक्ष रमिला सापकोटाले संक्रमितले अझै आवश्यकता परेको बेलामा एम्बुलेन्स नपाउने लगायतका धेरै समस्याहरु रहेकाले यसको समाधानको लागि केन्द्रले सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिनुभयो । सिविन बाल हेल्पलाईनका कार्यक्रम अधिकृत झविन्द्र ज्ञवाली, नेफ्स्कुन फिल्ड कार्यालय हेटौंडा शाखाकी प्रमुख ज्योती महत, नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाका रामजी खतिवडा, युवा संघसंस्थाको तर्फबाट राजेश नगरकोटी, पुष्कर तिमल्सिना र अभि मैनालीले आ-आफ्नो धारणा राख्नुभएको थियो ।

Comments

KATHMANDU WEATHER