Byroad News

Loading...

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेमाथि कार्वाही गर्न अध्यादेश ल्याउने मन्त्रिपरिषद्को निर्णय


स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेमाथि कार्वाही गर्न अध्यादेश ल्याउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं/२० जेठ 
सरकारले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि हुने आक्रमणका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत कानुन बनाउने भएको छ ।

२० जेट (बिहीबार) साझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको हो ।
स्वास्थ्य मन्त्रालयको प्रस्तावमा सो अध्यादेश ल्याउने निर्णय भएको हो ।

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई २ लाख जरिवाना र ४ वर्षसम्म कैद सजाय हुने व्यवस्थासहित सरकारले अध्यादेश ल्याउने प्रस्ताव गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को संशोधन अध्यादेशको मस्यौदा तयार पारी मन्त्रिपरिषदको बैठकमा पेश गरेको थियो । जसमा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई घेराउ गर्ने, हातपात गर्ने वा शारीरिक रुपमा घाइते पार्नेलाई चार वर्ष कैद, दुइ लाख रुपियाँ जरिवाना वा दुवै सजाय हुने प्रस्ताव गरिएको थियो ।

प्रस्तावित बिधेयकमा स्वास्थ्य संस्थामा तालाबन्दी, तोडफोड, आगजनी वा घेराउ गर्नेलाई पनि यही सजाय प्रस्ताव गरिएको छ ।

विधेयकमा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई धम्की दिने, मानसिक तनाव दिने वा अपमानजनक व्यवहार गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना वा एक वर्ष कैद वा दुवै सजाय हुने प्रस्ताव गरिएको छ । त्यस्तै बिरामीको उपचारमा अवरोध गर्नेलाई २० हजार रुपियाँसम्म जरिवाना र ३ महिनासम्म कैद प्रस्ताव गरिएको थियो ।

Comments

KATHMANDU WEATHER