थाहामा निषेधाज्ञा प्रशासनको आदेश अनुसार हुने
संक्रमितलाई मास्क र साबुन वितरण गरिने
थाहानगर/१९ जेठ
थाहानगरस्तरीय कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिको १९ जेठमा बसेको बैठकले नगरमा अझै कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले जारी गर्ने निर्देशन अनुसार नै हुने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयले भने ३१ जेठसम्म निषेधाज्ञा थप गर्ने सम्भावना रहेको स्रोतले बताएको छ ।
नगर प्रमुख लवशेर विष्टको अध्यक्षतामा बसेको बैठकले निषेधाज्ञालाई पूर्ण पालना गर्न आग्रह गर्दै अब हरेक घरमा पुगेर संक्रमितको यथार्थ स्वास्थ्य अवस्था बुझेर नगरमा जानकारी गराउन वडाहरुमा निर्देशन दिने निर्णय गरेको छ । घरघरमा पुग्ने प्रतिनिधिले कोरोना संक्रमित प्रति बिरामीलाई १५ वटा मास्क र एउटा साबुन वितरण गर्ने समेत निर्णय गरेको छ ।

Comments