Byroad News

Loading...

तीन देशबाट अन्तर्राष्ट्रिय उडान खुल्यो (नेपाल आउन पालना गर्नु पर्ने मापदण्ड यस्तो छ)


तीन देशबाट अन्तर्राष्ट्रिय उडान खुल्यो (नेपाल आउन पालना गर्नु पर्ने मापदण्ड यस्तो छ)

काठमाडौं । १९ जेठ, नेपाल सरकारको निर्णयानुसार नेपालबाट तीन देशका लागि हवाई उडान खुल्ला गरिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार चीन, टर्की र कतारका लागि हप्तामा एक दिन दुईतर्फी नियमित उडान खुलेको हो।
"टर्किश एअरलाइन्सले बिहीबारबाट उडान गर्नका लागि आवेदन नै दिइसक्यो। अब नेपाल एअरलाइन्स र चिनियाँले दिन्छन्," प्रवक्ता क्षेत्रीले भन्नुभयो "यसै साताबाट तीनवटै स्थानमा उडान सुरु हुनेछ।"
गत बिहीबार बसेको मन्त्रिपरिषद्‌को बैठकले कतारको दोहा, टर्कीको इस्तानबुल र चीनको कुनै एउटा स्थानका लागि अन्तर्राष्ट्रिय उडान पुनः सुरु गर्ने निर्णय गरेको थियो।
यसअघि नेपाल एअरलाइन्स र एअर इन्डियाले नेपाल-भारतबीच हप्तामा एक-एकवटा उडान गर्दै आएका छन् ।
त्यसबाहेक आन्तरिकका साथै अन्तर्राष्ट्रिय नियमित उडानहरू अहिले स्थगित छन्।
कोरोनाभाइरस नियन्त्रण तथा रोकथामको प्रयासमा चालिएका प्रतिबन्धात्मक कदमसँगै वैशाख तेस्रो सातादेखि नियमित उडानहरू पनि रोकिएका छन्।
नेपाली र विदेशी नागरिकका लागि नयाँ मापदण्ड
सङ्क्रमण नियन्त्रण तथा रोकथाममा प्रतिकूल असर नपर्नेगरी नेपाल आउने नेपाली र विदेशी नागरिकको आवागमन व्यवस्थित गर्न भन्दै सरकारले सोमबार नयाँ मापदण्ड जारी गरेको छ।
मन्त्रिपरिषद्ले जारी गरेको मापदण्डमा आवतजावतदेखि होटल क्वारन्टीन र होम क्वारन्टीनसम्मका विषय समेटिएका छन्।
नेपाल आउन चाहने व्यक्तिको पछिल्लो ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट र निजले १० दिनका लागि होटल बुकिङ गरेको प्रमाणहरु बुझाउनु पर्नेछ । नेपाल आइसकेपछि आफ्नै खर्चमा १० दिन अनिवार्य होटल क्वारन्टीनमा बस्नुपर्ने बाध्यात्मम व्यवस्था छ । होटल क्वारन्टीनपछि लक्षण देखिएमा पीसीआर परीक्षण गराउनुपर्ने र पोजिटिभ रिपोर्ट आएमा भनिए बमोजिमका आइसोलेशनमा बस्नुपर्ने व्यवस्था गरिएको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो ।
अन्तिम संस्कारमा सहभागी हुन विदेशबाट आउने व्यक्तिहरूलाई स्थानीय तहको सिफारिसमा कम्तीमा १० दिन अनिवार्य होम क्वारन्टीनमा बस्ने गरि गन्तव्यमा जान दिइने छ । होम क्वारन्टीनमा बस्दा आफ्नै खर्चमा एघारौँ दिन पीसीआर परीक्षण गराउनुपर्नेछ । खाडी मुलुक र मलेशियामा रोजगारीमा रहेका नेपाली श्रमिकको हकमा पाँच दिन अनिवार्य होटल क्वारन्टीन बसेर पीसीआर नेगेटिभ आएपछि १० दिन होम क्वारन्टीनमा बस्नेगरी जान दिइने छ । कोभिड नियन्त्रणसम्बन्धी कार्यमा खटिन आउने विदेशमा काम गरिरहेका स्वास्थ्यकर्मी, स्वास्थ्यसम्बन्धी अध्ययन पूरा गरेका वा अध्ययन गरिरहेका नेपालीको हकमा स्वास्थ्य मन्त्रालयले तोकेको वासस्थानमा अनिवार्य १० दिन क्वारन्टीन बस्ने गरी जान दिइने छ ।
क्वारन्टीन अवधि पूरा गरी गन्तव्यमा जान खोज्ने सबैलाई प्रस्थानका लागि स्थानीय प्रशासनले सहजीकरण गर्ने
स्वीकृत उडानमार्फत् नेपाल आउने यात्रुले पर्यटन विभागमा दर्ता भएका तीन, चार र पाँच तारे होटलमा क्वारन्टीनका लागि बुकिङ गर्न सक्नेछ ।
नेपाल आउने जोकोहीले जनस्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना नगरेको पाइएमा कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम कारबाही हुने जनाइएको छ । 

Comments

KATHMANDU WEATHER