काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो हुँदै
मोडालिटी परिवर्तन गरिने, विहान १० बजेसम्म विभिन्न पसल खुल्ने
काठमाडौं । १८ जेठ : काठमाडौं उपत्यकामा विगत एक महिनादेखि जारी निषेधाज्ञाको मोडालिटी परिवर्तन हुने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार मोडालिटी परिवर्तन गर्ने तयारी गरेको हो।
जिल्ला प्रशाननले अब खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलीभरी, किताब पसल बिहान १० बजेसम्म खुल्न दिने भएको छ।
प्रशासनले उद्योग, निर्माण कार्य सुरक्षित ढंगले काम गर्न पाइने, ढुवानी सामग्री राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाउने गरी मोडालिटी तयार गरेको हो।
अब स्वास्थ्य मापदण्ड पूरा गरेर बिहान १० बजेसम्म वर्कशप सञ्चालन गर्न पाइने छ । उद्योगले कामदारको आवासीय व्यवस्था मिलाएर काम गर्न सक्नेछन् । आवासीय प्रबन्ध मिलाएमा सञ्चालनका लागि प्रशासनले सहजिकरण गर्ने भएको हो । जिल्ला प्रशासनले केही मोडालिटी परिवर्तन गरिए पनि वैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई निरन्तरता दिने भएको छ।
यसअघि उपत्यकामा थपिएको एक साता लामो निषेधाज्ञा जेठ २० गते सकिदैछ। उक्त निषेधाज्ञामा भने खाद्यान्न पसलसमेत बन्द गर्ने निर्णय गरिएको थियो। केही समय यता काठमाडौं उपत्यकामा कोरोना संक्रमण र मृत्यु दरमा केही कमी आएको छ। विज्ञहरुले कोरोना संक्रमण दर घटेपनि जोखिम भने यथावत रहेको बताएका छन्।
हाल संक्रमित हुने भन्दा निको हुनेको दर बढेको छ। सोमबार मुलुकभर ६ हजार ४९१ जना निको हुँदा ४ हजार १७८ जना संक्रमित थपिएका थिए भने ११४ जनाको मृत्यु भएको थियो।


Comments